मुख्यमन्त्री कार्कीलाई बर्खास्त गर्ने एमालेको चेतावनी

0
6

झापा ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएको छ । कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै उनले तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए ।

यदि कार्कीले राजीनामा नदिए संवैधानिक विधिबाट बर्खास्त गरिने भण्डारीले बताए । संसदीय पत्रकार मञ्च कोशीले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचेतक भण्डारीले यदि राजीनामा दिन कार्कीले आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी समेत दिए ।

‘यो सरकार राजनीतिक हिसावले अल्पमतमा परिसक्यो । अहिले नै राजीनामा दिँदा हुन्छ । राजीनामा नदिने हो भने सत्ता पक्ष अल्पमतमा देखिनेछ र विपक्षी बहुमतमा देखिने छ, त्यस्तो अवस्थामा एक मिनेटमा पनि मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन’– भण्डारीले भने ।

उनले थपे–राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो । यदि प्रक्रियामा पनि नगएर जबर्जस्ती गर्न खोज्नु भयो भने संविधानको सर्वोच्चता, सवोच्च अदालतको आदेश, कानून बमोजिम उहाँलाई हटाउँछौं ।

उनले संघीय सरकारको गठबन्धन भत्किएर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेको दाबी गरे । माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिनुहोला, उहाँहरुले छोडेको २४ घण्टाभित्र हामीले आफ्नो स्टेप चाल्छौं । त्यसपछि राजीनामा दिँदा पनि उहाँले अप्ठ्यारो गरी राजीनामा दिनुपर्ने हुन्छ– एमाले नेता भण्डारीले भने ।

केन्द्रको सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भण्डारीले बताए । प्रदेश प्रमुखले चाहेमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पनि सरकार बन्न सक्ने वा कुनै दलहरु एक भएर बहुमत सिद्ध गर्नसके संविधानको धारा १६८ को उपधारा १ बाट पनि सरकार बन्न सक्ने उनले दाबी गरे । तर केन्द्रमा हुने भागबन्डामा माओवादी र एकीकृत समाजवादीको नेतृत्वको सरकारलाई पनि स्वीकार गर्ने बताउँदै भण्डारीले भने –सरकार एमालेकै हुनुपर्छ भनेर हामीले दाबी गरेका छैनौं, सहमति गरेर अगाडि बढ्न सकिन्छ ।

संविधानका कतिपय जानकारहरुले भने कोशीमा केदार कार्की नेतृत्वको सरकार ढलिसकेपछि पुरानै प्रक्रियातिर नगई गैरदलीय सरकार बन्ने वा मध्यावधि चुनावमा जाने तर्क गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here