सुर्तीजन्य पदार्थ सेवनबाट बर्सेनि ८० लाख मानिसको मृत्यु

0
5

झापा।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ कर कोषको सचिवालयले बिश्वभर वर्सेनि ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थबाट हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । १३ लाख जनाले अरुले प्रयोग गरेको धुमपान सेवनको धँुवावाट ज्यान गुमाउनु परेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको समन्वयमा शुक्रवार भद्रपुरमा नेपालमा सुर्र्तीजन्य पदार्थको नियन्त्रण र नियमनको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

कार्यक्रमका सहभागीलाई सुर्तीजन्य पदार्थ निषेध गरिएका सार्वजनिकस्थल सुर्तीजन्य पदार्थ सेवनका कारण मानव शरीरका विभिन्न भागमा हुने असर, स्थानीय तहको भूमिका, सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन तथा व्यवस्था , प्रयोग गर्दा पाउने सजाय तथा जरिवाना, हाल नेपालमा प्रयोग र असरका तथ्याङ्कका विषयमा जानकारी दिइएको थियो ।

स्टेप्स सर्भे सन २०१९ को प्रतिवेदन अनुसार हाल नेपालका करिव २९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले बताए । उनका अनुसार जसमध्ये धुमपान प्रयोगकर्ता नेपालमा १७ प्रतिशत छन् । धुमपान बाहेकका सुर्तीजन्य पदार्थ प्रयोगकर्ता १८ प्रतिशत रहेको उनको भनाइ छ ।

राष्ट्रिय रोगभार प्रतिवेदन सन २०१९ का अनुसार नेपालमा बार्षिक करिव ३४ हजार मानिसको मृत्यु धुमपान सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थमा वर्सेनि १० अर्ब भन्दा बढी रुपैयाँ खर्च हुने गरेको मिश्रको भनाइ छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममाम मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले नेपालमा सुर्तीजन्य पदार्थको अवस्था र प्रगतिका विषयमा प्रकाश पारेका थिए ।

त्यस्तै नेपालमा सुर्ती तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका विषयमा मन्त्रालयका स्वास्थ्यकर कोषको सचिवालयका कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मीले सहजीकरण गरेका थिए । यसैगरी कार्यक्रममा स्थानीय तहबाट भएका प्रयासका विषयमा समेत प्रष्ट्याइएको थियो ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि चापागाँई, जिल्ला समन्वय अधिकारी सुनिल निरौला, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here