झापा ।

सशस्त्रद्वन्द्व कालमा तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाबीच भएको दोहोरो भिडन्तमा परी मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा ज्यान गुमाएका सूर्य गौतमको स्मृतिमा रामचोक युवा समूहले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका –२ रामचौकमा हरेक वर्षझैं यो वर्षपनि चैत ३ गते स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको राम चोक युवा समूहका संस्थापक सचिव राजु गौतमले जानकारी दिए । मृतक गौतम सोही ठाउँमा स्थानीय बासिन्दा हुन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडसँंगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए । रामचोक युवा समूहका अध्यक्ष भगिरथ लुइँटेलको अध्यक्षता तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रामचोक सामुदायिक वनका अध्यक्ष राजु गौतमले स्वागत गरेका थिए ।
मृतक गौतमका भिनाजु टिकेन्द्र खनालले सूर्य गौतमको मृत्युको कारण बताउँदै तत्कालीन अवस्थाका विषयमा जानकारी गराएका थिए भने आमा योगमाया गौतमले छोराको स्मृतिमा हरेक वर्ष रक्तदान लगायतका कार्यक्रम गरेको प्रति धन्यवाद दिएकी थिइन् ।






























