अर्जुनधारा जलेश्वर धामको ३२ औं साधारण सभा

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामको ३२औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

धामको श्रवणहलमा धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि ज्येष्ठ नागरिक रामप्रसाद भट्टराईले उद्घाटन गरेका थिए ।
कार्यक्रममा धाम व्यवस्थापन समितिको वार्षिक प्रगति प्रतिवेदन महासचिव शिवलाल खतिवडाले र आय–व्यय प्रगति प्रतिवेदन कोषाध्यक्ष मनोज जोशीले प्रस्तुत गरेका थिए ।

धामको ऐतिहासिक र धार्मिक अवस्था, सामाजिक अवस्था, भौतिक संरचना, शैक्षिक अवस्थाहरु बारे जानकारी गराइएको प्रतिवेदनमा समितिले आगामी दिनमा सम्पन्न गर्ने भावी योजनाहरु उल्लेख गरिएको थियो ।

जसअनुसार धाममा प्रवेश गर्ने सहायक मार्गहरुको पाँच किलोमिटर क्षेत्रसम्म सबै पक्की गर्नुपर्ने, धाम क्षेत्रको आसपासमा रहेका रमणिय तथा दर्शनीय स्थलहरुको खोजीसँगै त्यसको विकास गर्नुपर्ने, गुरुयोजना अनुसार आगन्तुक अतिथि, यात्रु, विवाह, ब्रतबन्धलगायतका सभा सम्मेलन गर्नका लागि धर्मशाला(अतिथि सदन) निर्माणको लक्ष्यसँगै धाम परिसरमा रहेको सूर्यकुण्डको जीर्णोद्वार गरि रथसहित सूर्य भगवानको प्रतिमा स्थापना गर्ने, आधुनिक शौचालय र अमर धर्मशाला निर्माण गर्नेलगायत रहेको छ ।

त्यसैगरी अर्जुनधारा नगरपालिकाभित्र रहेका धार्मिक मठमन्दिरहरुलाई समेटेर धामलाई केन्द्रविन्दुमा राखेर धार्मिक सर्किट बनाउने, भौतिक निर्माण वा पाँच लाख रुपैयाँ भन्दा माथि सहयोग गर्ने दाता परिवारका एक जना सदस्यलाई निःशुल्क मानार्थ आजीवन सदस्यता प्रदान गर्ने, अक्षय तृतीया(विवाह पञ्चमी)का दिन १०८ विपन्न परिवारका नव दम्पत्तीको निःशुल्क विवाह गरिदिने, धाममा कार्यरत कर्मचारीहरुको न्यून पारिश्रमिक रहेको हुँदा समय सापेक्ष वृद्धि गर्नुपर्ने रहेको छ ।

त्यस्तै समितिले गत आर्थिक वर्ष ०७९/०८०मा दुई करोड एक लाख ३४ हजार एक सय ३३ रुपैयाँ ३१ पैसा बराबरको आर्थिक कारोबार गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार समितिले चालु आर्थिक वर्ष ०८०/०८१को फागुन मसान्तसम्म एक करोड ७८ लाख ९७ हजार पाँच सय दुई रुपैयाँ ९१ पैसा बराबरको आर्थिक कारोबार गरेको छ ।

कार्यक्रममा स्थानीय समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईं, समितिका सल्लाहकार सदस्य शंकर सुवेदी, मूलअर्चक अग्निप्रसाद सिग्देल, आलेप समिति सदस्य कृष्ण पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here