वडा कार्यालय निर्माण स्थान छनौटका लागि सुझाव संकलन

0
6

विमल दहाल, माई ।

इलामको माई नगरपालिका वडा नम्बर–१ को वडा कार्यालय भवन निर्माण स्थानका विषयमा लामो समयदेखि सहमति नभएको भन्दै सोमवार सर्वपक्षीय भेलाबाट सुझाव संकलन गरिएको छ ।

वडा कार्यालय निर्माण स्थलका लागि वडा कार्यालयको आयोजनामा यस अघि पाँच वटा भेला वसिएको भएपनि कुनै सहमति नभएको वडा अध्यक्ष राम बहादुर राईले जानकारी दिनुभयो। वहाँले आगामी असार मसान्तसम्म पनि सहमति गरेर टेन्डर गर्न नसके बजेट फ्रिज हुने जानकारी दिनुभया े।

भवन निर्माणका लागि बारम्बार भेला हुँदा पनि सहमति नभएपछि कार्यपालिका बैठकमा वडा कार्यालय निर्माणका लागि प्रकृया अघि बढाउन प्रस्ताव गरिएको वडाध्यक्ष राईले बताउनु भयो। विगतमा माई–१ का सधुवा, हिलेखोला, सहवीरे, माझीटार, पाल्टार, घुम्ती लगायतका वासिन्दाले आ–आफ्नो एजेन्डा सहित वडा कार्यालय भबन निर्माण स्थलमा असहमति गरेका थिए ।

भवन निर्माणका लागि माई नगरपालिकाको २२औ बैठकले वडा नम्बर–९ का वडाध्यक्ष एवम कार्यपालिका सदस्य लिला कुमार राईको संयोजकत्वमा ५ सदस्यीय वडा कार्यालय निर्माण स्थल कार्यदल निर्माण गरेको छ । कार्यदलका सदस्यहरुमा कार्यपालिका सदस्यहरु राम बहादुर राई, अमृत मोक्तान, देवकुमार तामाङ र वडा सदस्य भगवती बिश्वकर्मा रहनु भएको छ।

सोही कार्यदलले समस्या समाधानका लागि सोमवार सुझाव संकलन गरेको हो। सुझाब संकलनमा मौखिक सहित स्थानीय २० जनाले लिखित सुझाव पेस गरेका छन्। वडा नम्बर–१ मा अघिल्लो कार्यकालमा समेत भवन निर्माणमा सहमति हुन नसक्दा बजेट फ्रिज भएर गएको थियो ।

सुझाव सङ्कलन कार्यदलका संयोजक लिला बहादुर राईको अध्यक्षता र सचिव सुमन राईको सन्चालनमा सम्पन्न कार्यक्रममा कार्यदलका सदस्य एवम् वडा नं–१ का अध्यक्ष राम बहादुर राई, वडा नम्बर–८ का अध्यक्ष अमृत मोक्तान, पत्रकार विमल दहाल, नेपाली काँग्रेसका कृष्ण कुमार मुखिया, एमालेका बिष्णु राई, माओवादी केन्द्रका समिर राई, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका मन बहादुर राई, सहभागीहरु सुवर्ण राई, संगम सुव्वा, विक्रम फागो लगायतले सुझाव राख्नु भएको थियो। वडा नम्बर–१ मा ८३४ परिवारका ३१२६ जनाको बसोबास रहेको छ ।

माई नगरपालिका गठन पुर्ब वडा–२, ७ र ९ मा मात्र भबन रहेको भएता पनि वडा नम्बर २ को भबन जिर्ण रहेको कारण नयाँ भवन निर्माण गरिएको छ भने वडा नम्बर ३, ४, ५, ६, ८ र १० मा वहुतले वडा भवन निर्माण अन्तिम चरणमा पुगि सकेको छ। यसअघि वडा नम्बर–१ कार्यालय युवाबर्ष मावि सधुवा परिसरमा भाडामा रहेको थियो भने केही समयअघि देखि सधुवा–गोलेचौकमा रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनमा सन्चालनमा रहेको छ । सोही स्थानमा आफुले ५ रोपनी जग्गा निःशुल्क दिएकाले वडा भवन निर्माण गर्नुपर्ने स्थानीय बिक्रम फागोको भनाई छ।

तर घुम्ती, सधुवा र पाल्टारका बासिन्दा भने आधारभूत सेवा केन्द्रको सुनिश्चितता नभएसम्म सेवा पहुँच समान नहुने तर्क गर्दै आएका छन् । यता सर्वपक्षीय बैठकले निर्धारण गरेको स्थानमा भवन निर्माणका लागि सिफारिस गरिने सुझाव संकलन कार्यदलका संयोजक लिला कुमार राई जानकारी दिनु भएको छ। वहाँले जीतहार भन्दा पनि सबैलाई पाएक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्ने गरि सहमति गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here