धरान–इटहरी सडक कालोपत्र थालियो

0
5
धरान,
कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो ।
कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।” धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किमी सडक निर्माणमा ढिलाइ हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
उक्त सडक अस्तव्यस्त हुँदा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ ।
उक्त सडकखण्ड भत्काएर समयमा निर्माण नगर्दा सवारीसाधन दुर्घटना बढिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार उक्त सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटनामा भएकामा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा ८८ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा भएका २३ दुर्घटनामा तीन जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सम्झौता सकिएपछि म्याद थप्ने प्रक्रिया चलिरहेको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना इटहरीका इञ्जिनियर अस्मिता सुवेदीले बताउनुभयो । बाँकी काम चाँडै सकिने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here