सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क !

0
4

काठमाण्डौं ।

सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुनको सुन तस्करहरूसँगको सम्पर्क सम्बन्ध देखिएको हो।

ब्युरो स्रोतले लिएको कल डिटेल रेकर्ड (सिडिआर) मा अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका जीवनकुमार गुरुङसँग सम्पर्क देखिएको छ। भन्सार विभागले समेत अनुसन्धान गरिरहेको अवस्थामा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा अनुसन्धान भइरहेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको भेटिएको छ।

पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गरेको कल डिटेलमा देखिन्छ। गुरुङले पनि सातपटक पुनलाई फोन गरेको देखिएको छ। तर उनीहरूबीच के कुराकानी भएको थियो भन्नेबारे कुनै तथ्य बाहिर आउन सकेको छैन।

अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले वर्षमान पुनसँग कुराकानी भएको स्विकारेका छन्। तर उनले के विषयमा कुराकानी भएको थियो भन्नेबारे खुलाएका छैनन्। ‘कुराकानी भएको देखिन्छ, आरोपी गुरुङले कुराकानी भएको स्वीकार गरेको पनि देखिन्छ तर विषय भने खुलाएका छैनन्, यो विषयमा थप अनुसन्धान भइरहेको छ,’ सिआइबी स्रोतले भन्यो।

सुन तस्करीमा संलग्नता भनिएका गुरुङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा कार्यरत रहेको र उनलाई वर्षमान पुनले सम्पर्क गरेको बिन्दुबाट प्रहरीले यो विषयमा थप अनुसन्धान सुरु गरेको छ। केही समयअघि वर्षमानले आफ्नो नाम सुन तस्करीमा संलग्न तिब्बत मूलका भारतीय नागरिक दावा छिरिङ र रोल्पाकी अमला रोकासँग मुछिएपछि सो विषयमा निष्पक्ष छानबिन गर्न आग्रह गरेका थिए।

त्यतिबेला उनले प्रहरी महानिरीक्षकलाई नै फोन गरेर अनुसन्धान गर्न आग्रह गरेका थिए। वर्षमानका आफ्नै भाइ प्रनिश पुनको नाममा भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी छ। सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रनिशको प्रत्यक्ष सहकार्य थियो।

अमला रोका, दीपक बुढा, सिसम रोकाका नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो। यद्यपि विवादमा आएपछि वर्षमान पुनले आफू त्यस कार्यमा संलग्न नभएको जनाएका थिए। ‘मेरो परिवारका कुनै पनि सदस्य सुन तस्करीमा संलग्न रहेको देखिए म आफैं प्रहरीलाई बुझाइदिन्छु,’ अर्थमन्त्री पुनले त्यतिबेला भनेका थिए। उनले आफू र गुरुङबीच कुराकानी भएको याद नभएको बताए।

‘म र गुरुङबीच कुराकानी भएको याद छैन तर पनि पूर्वउपराष्ट्रपतिसँग भेटघाटका क्रममा कहिलेकाहीँ कुरा भएको हुन सक्छ, मलाई याद नभएको होला,’ वर्षमानले भने । उनका अनुसार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नजिकका नातेदार भएको र पार्टीमा पनि सँगै काम गरेकाले नजिकको सम्बन्ध छ।

‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र म नजिकका नातेदार हौं। आउजाउ हुन्छ। उहाँको सचिवालयमा गुरुङ बस्नुभएको रहेछ । त्यही क्रममा कुराकानी भएको हुन सक्छ। म पहिला पनि अर्थमन्त्री भइसकेको मान्छे हुँ। यस्तो राजस्व छल्ने र देशलाई हानि हुने काम मबाट हुन सक्दैन। योभन्दा पहिला ऊर्जा र शान्ति मन्त्रालय सम्हालें, मेरो ट्र्याक रेकर्ड हेर्दा पनि हुन्छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘अहिले जेजति सवाल उठेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीसँग मेरो कुराकानी भइसकेको छ। अनुसन्धान हुन्छ। मेरो परिवारका मान्छे संलग्न देखिए पनि कारबाही हुन्छ, कसैले उन्मुक्ति पाउँदैनन्। अपराध गरेका व्यक्तिसँग फोनमा कुरा गर्नेजति सबै दोषी हुन्नन्।’

प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परिवारका सदस्य सुन तस्करीमा रहेकोबारे अनुसन्धान गरिरहँदा अर्थमन्त्री वर्षमान पुनसँगको सम्पर्क सम्बन्ध भेटेको हो। ‘नन्दबहादुर हुन् वा वर्षमान, दुवैको परिवार सुन तस्करीसँग आबद्ध रहेका व्यक्तिसँग निकट सम्बन्ध रहेको पाइएको छ,’ सिआइबीका एक अधिकारीले भने।

पूर्वराष्ट्रपति पुनका दुई भाइ छोरा जितेन्द्र र दीपेश तस्करीमा मुछिएका छन्। अनुसन्धान गरे पनि मुद्दा चलाउने आधार नभेटिएको भन्दै सिआइबीले दीपेशलाई सफाइ दिएको थियो। जितेन्द्र भने नेपालबाहिर छन्। गत मंसिर २१ गते फ्लाई दुबईबाट ल्याइएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले बरामद गरेको थियो। त्यसमा संलग्न रहेको भन्दै चन्द्र घले पक्राउ परेका थिए।

घले पक्राउ परेलगत्तै जीवन गुरुङ फरार रहेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजीको क्रममा फागुन १४ गते गुरुङ सामाखुसी क्षेत्रबाट पक्राउ परेका थिए। विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। नागरिक न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here