किचकबधमा पुनः उत्खनन् शुरु

0
5

चिन्तामणि दाहाल,
भद्रपुर।

झापाको भद्रपुर –३ को पृथ्वीनगरस्थित देउनिया किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न यसपटक पुरातत्व विभागको टोलीले पुनः उत्खननको काम शुरु गरेको छ ।

यसअघि २०५८ सालदेखि पहिलो पटक उत्खनन गरेको पुरातत्व विभागको टोलीले ६ पटकसम्म उत्खनन गरिसकेको छ । यसपटकको उत्खनन सातौं भएको उत्खननको नेतृत्व गरिरहेका पुरातत्वविद उद्धब आचार्यले बताए ।

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीहरुको बैज्ञानिक परीक्षणमा यो स्थलको ऐतिहासिकता करीब २२ सय बर्ष पुरानो भएको पाइएको छ । पुरातत्वविद आचार्यले किचकबधको ऐतिहासिकता इसा पूर्व १ सय २० देखि २ सय बर्षसम्मको रहेको परीक्षणबाट पुष्टि भएको बताए । अर्थात भारतमा शुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको अनुमान गर्न सकिने भएको छ ।

यो संरचना इसाको पाँचौं शताब्दीसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र त्यो समयमा यस क्षेत्रमा आएको ठूलो भूकम्पले यो स्थल ध्वस्त भएको फ्रेन्च भुगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यको भनाइ छ ।

उनले यसपटक उत्खनन उत्तर पूर्वी कुनाको पहिला मन्दिर रहेको क्षेत्रमा भइरहेको जनाउँदै यसभन्दा पश्चिम जान अहिले भइरहेको हल जस्तो संरचना भत्काउनु पर्नेमा अहिलेसम्म नभत्काइँदा समस्या भएको बताए ।

उनले पहिले उत्खनन गरेर संरक्षित गरेका स्थानमा पनि मान्छेले टेकेर हिँड्न नहुनेमा हिँडेर भत्काउने गरेको र त्यसलाई संरक्षण समितिले सुरक्षित राख्न ध्यान दिएमात्र यसको ऐतिहासिकता सुरक्षित रहने बताए ।

पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले यसपटक यही चैत २ गतेबाट शुरु भएको उत्खनन १८ गतेसम्म हुने र समय मिले संरक्षित गरेर जाने बताउँदै बाँकी काम पुरातत्व विभागले सक्ने गरी अर्को बर्ष बजेट दिएमा सकिने र संरक्षित गरिने स्पष्ट गरे ।

यसपटकको टोलीमा पुरातत्वविद आचार्य, पुरातत्व विभागका अधिकृत नबराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशवाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here