एमाले झापाको अधिवशेन शुरु, प्रेम गिरीलाई सर्वसम्मत अध्यक्ष बनाइँदै

0
10

बिर्तामोड ।

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन बिहीबारबाट शुरु भएको छ ।

बिर्तामोडस्थित अग्रसेन भवनमा शुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । ११ औं जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

उनले एमाले सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताए । पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नका लागि कार्यकर्तालाई निर्देशन दिँदै झापामा सबैको सहमतिको नेतृत्व चयन हुनुपर्ने बिचार ब्यक्त गरे । सोही अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई सम्मान गरिएको थियो ।

अधिवेशनका लागि अध्यक्ष ओली बुधबार नै झापा आइसकेका थिए । पार्टी अध्यक्ष ओलीको गृह जिल्लामा हुने जिल्ला अधिवेशनलाई सबैले महत्वका साथ हेरेका छन् । अधिवेशनको बन्दशत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी भएको जिल्ला कमिटीले जनाएको छ ।

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् । ती दुईमध्ये गिरीलाई सहमतिबाट अध्यक्ष बनाउने योजना रहेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष ओलीले गिरीलाई अध्यक्ष बनाउने गरी सहमति गर्न निर्देशन दिइसकेको बताइएको छ । जिल्ला अध्यक्षमा गिरी, उपाध्यक्षमा असारु राजवंशी र सचिवमा तुलसी कार्कीलाई बनाउने सहमति भइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार अनिता कन्दङ्वा र खगेन्द्र नेपाललाई उपसचिव बनाउने तयारी गरिएको छ ।

अन्य पदमा पनि सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । पदाधिकारी र अन्य समितिमा गरी तीन सयभन्दा बढी आकांक्षी देखिएका छन् । करिव ८ सय प्रतिनिधि हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ । जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी बन्ने बताइएको छ ।

गिरी एमाले अध्यक्ष ओलीका निटक मानिएकाले पनि उनलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिइसकेको बताइएको छ । संविधानसभा सदस्य समेत रहेका गिरी एमाले झापामा रुचाइएका नेतामा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here