नेपालपछि चीनमा पनि ६० किलो सुनकाण्ड !

0
6

काठमाण्डौं ।

पछिल्लो समय नेपालमा सुन तस्करीका घटना बढेका छन् । ठूला नेताहरु नै काण्डका मुछिएका र समातिएका छन् । खास गरी चीनबाट नेपालमा अबैध सुन आउने र भारततिर लैजाने गरिएको सुरक्षा निकायको विश्लेषण छ ।

उता जहाँबाट नेपालमा अबैध सुन भित्रँदैछ भनेर चर्चा हुने गर्छ, त्यही उत्तरी छिमेकी चीनमा पनि सुनको ठगी धन्दा र अनियन्त्रित बजारको संकट बढ्दै जान थालेको पाइएको छ ।

पछिल्लो समय चीनमा स्टक मार्केट कमजोर बनेको छ । सेयर मार्केटको मन्दीसँगै मध्यम वर्गीय लगानीकर्ताहरुले आफ्नो सम्पत्ति कसरी सुरक्षित गर्ने भन्ने उपायहरु खोज्न थालेका छन् । यसक्रममा चीनमा सुनको कारोबार र मूल्य ह्वात्तै बढेको छ । यसक्रममा सुनसँग सम्बन्धित घोटाला र काण्डहरु पनि बाहिर आएका छन् ।

यसै महिनाको सुरुमा बेइजिङस्थित प्रशिद्ध सुन ब्राण्डको फ्रेन्चाइजीले ७० भन्दा बढी लगानीकर्ताहरुबाट ६० किलो सुन ठगी गरेको आरोपमा मुद्दा चलाइएको छ ।

केही पीडितहरुको दाबा छ कि उनीहरुले सन् २०१६ मा करिब ३५० युआन प्रतिग्रामका दरले सुनमा लगानी गरेका थिए । पसलेले भविश्यमा उनीहरुले गरेको खरीद फिर्ता लिने वचन दिएका थिए ।

अन्य कतिपय प्रान्तका स्थानीयको गुनासो छ कि उनीहरुले किनेको सुनका गहनामा अधिकांश चाँदी र रेनियम पाइएको छ । सरकारी टेलिभिजन सीसीटीबीको एक रिपोर्ट अनुसार चीनको पूर्वी प्रान्त झेझियाङमा एक उपभोक्ताले ४५ ग्राम सुन किन्दा केवल १० ग्राम मात्रै शुद्ध सुन पाइएको छ ।

चीनमा कमजोर सेयर मार्केट र बढ्दो आर्थिक संकटले गर्दा वैकल्पिक लगानीका रुपमा सुनलगायतका महंगो धातु खरीदमा मध्यमवर्गको रुची बढेको त्यहाँका समाचार संस्थाहरुले जनाएका छन् । हाल बढिरहेको आर्थिक मन्दी, कम व्याजदर र विदेशी लगानीमा सीमित पहुँचका कारण चीनमा सुनको खरिद बढेको हो ।

‘सुन पक्कै पनि महंगो छ, तर यो सम्भवतः अझै बढ्दै जान सक्छ,’ ग्वाङझाउस्थित एक व्यापारीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ, ‘हामीले हाम्रा घर, सेयर र अधिकांश वित्तीय उत्पादनहरुमा पैसा गुमायौं ।’

वल्र्ड गोल्ड काउन्सिलका अनुसार चीनमा घरेलु सुनका गहनाको खपत सन् २०२३ मा २८२ बिलियन युआन अर्थात ३९ बिलियन डलरको रेकर्ड कायम भएको थियो । यो उच्च स्तरको माग हो । काउन्सिलको दाबी अनुसार सन् २०२४ मा यो अझै बढ्ने छ ।

एक स्वतन्त्र वित्तीय मिडिया कम्पनीद्वारा नयाँ मध्यमवर्गबारे गरेको अध्ययन अनुसार चीनका लगभग ११.७ प्रतिशत मध्यमवर्गीय परिवारले पछिल्लो वर्ष प्राथमिक आर्थिक उत्पादनका रुपमा सुन खरीद गरेका छन् । बजारमा १० ग्राम भन्दा कम सुन खरीद गर्ने क्रम बढेको छ ।

रिपोर्ट अनुसार सन् १९९६ देखि २०१० को बीचमा जन्मिएका चिनियाँहरुले बढी सुन किन्ने योजना बनाएको पाइएको छ । सुनलाई उनीहरु सम्पत्तिको सुरक्षण ठान्छन् । सुन पसलहरु पहिले भन्दा साना शहर, काउन्टी, सपिङ सेन्टर र सडकसम्म देखिन थालेका छन् ।

सुनको खुद्रा मूल्य पनि पछिल्ला वर्षहरुमा ह्वात्तै बढेको छ । चिनियाँहरुले रियल स्टेट वा सेयर बजार भन्दा सुनमा गरिने लगानीलाई सुरक्षित मान्न थालेका छन् । तर, मध्य बेइजिङमा सुन पसल बन्द भएका छन्, जसका कारण उनीहरुले सुनको खरीद फिर्ता पाउन असमर्थ भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here