गिरी सहित पाँच जनालाई ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान

0
9

झापा  । ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ झापाका महेन्द्र कुमार गिरी सहित पाँच जनालाई प्रदान गरिएको छ ।
गोर्खा फाउण्डेशन झापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विश्वेश्वर नौबाग अर्थात विशे नगर्चीको योगदानलाई स्मरण गर्दै उनको स्मृतिमा स्थापना गरेको ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरीसहित पाँच जनालाई प्रदान गरिएको हो ।
सम्मानित हुनेहरुमा वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, हुम्ला जिल्लाकी पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार र भूवनसिंह विश्वकर्मा रहेका छन् । विश्वकर्मा अन्टार्टिका महादेश पुग्ने पहिलो नेपाली नागरिक हुन् ।
नगद ५१ हजार पुरस्कार राशिसहित उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपाल कुमार वस्नेतले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
गोर्खा फाउण्डेशनका अध्यक्ष वीरवहादुर दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका महासचिव रञ्जित परियारले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारआलीका गणपति प्राजु वस्नेत, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेत लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र कलाकार राजेश घतानीले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here