परोपकार धर्म र परपीडा पाप

0
8

संसारमा धन भएर पनि समाजका लागि केही पनि नगर्नेको सङ्ख्या धेरै ठूलो छ । मानिस पुराण र पूजापाठमा जति उदारतापूर्वक खर्च गर्न तम्सन्छन्, त्यसरी नै दुःख, पीडा र अभाव भएका ठाउँमा, गरिबी, वेदना र आहतले रोइरहेका, आँशुमा छटपटाइरहेका मानिसको हितका लागि काम गर्ने मानिस कमै छन् ।
उदारहृदयी दाता बन्न पहिलो कुरा मानिस सामाजिक बन्नु प¥यो । जनता लाभान्वित हुने सकारात्मक कार्यको समाजमा सकारात्मक प्रभाव पर्छ र समाजले यसको उच्च मूल्याङ्कन पनि गर्छ । स्वार्थरहित जनसेवा नै पुण्य र धार्मिक कार्य हो । चार वेद, अठार पुराण र श्रीमद्भागवत गीतासहित महाभारतको सार भनेको धर्म परोपकार हो र पाप परपीडा हो भन्ने छ । खुला हृदय भएका मनकारी व्यक्तिहरूको सत्कार्यबाट समाज अगाडि बढेको हुन्छ ।

समाजमा लोभीपापीको पनि सङ्ख्या कम छैन, राज्यसत्तामा मञ्चासीन भएर राज्य र जनतालाई दुहेर सात पुस्तालाई पुग्ने सम्पत्ति थुपार्नेको पनि कम छैन । तर, हिजो हाम्रो पूर्वजले गरेका सामाजिक कामका कारणले आज हामी लाभान्वित भइरहेका छौं भने आज हामीले गर्ने सामाजिक कामले हामीसहित आगामी सन्ततिहरुले पनि लाभ लिने निश्चित छ ।

धर्मशास्त्रमा आफ्नो आम्दानीको दश अंशको कम्तीमा एक अंश सामाजिक तथा परोपकारी कार्यमा खर्चनुपर्ने उल्लेख छ । तनहुँ चुँदी रम्घाका घाँस काटी बेचेर आएको पैसाबाट सार्वजनिक कुवा खन्न चाहने सामान्य परिवारका घाँसीबाट नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यले प्रेरणा लिएको प्रसङ्ग सबैमा विदितै छ । धेरैसँग धन छ, तर मन छैन र मन हुनेसँग धन छैन । तर, थोरै धन भएर पनि दयावान दाताहरूले स्तुत्य काम गरेका छन् ।
धेरै लामो समयदेखि सामाजिक काममा सक्रिय रहेका व्यक्ति समाजका विविध क्षेत्रमा आदरका पात्र भएका छन् । मानवता र सद्भावका लागि आफ्नो सम्पत्तिको एक हिस्सा लगानी गर्ने उदारमना दाताहरूले ‘परोपकाराय पुण्याय’को शास्त्रीय मान्यतालाई पछ्याएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ’को मूल भाव अनुरूप परोपकारमा मात्र वास्तविक सुख पाइने यथार्थ ग्रहण गर्न आवश्यक छ । आफ्ना पितापूर्खा र आफूले आर्जन गरेको सम्पत्तिको अंश दान गर्ने हो । तर, राज्य र नागरिकलाई दोहन गरेर कमाएको कालो धनलाई समाजसेवाका नाममा सेतो बनाउने र रवाफी जीवन जिउने बोक्रे समाजसेवीहरूभन्दा फरक हुन आवश्यक छ ।
आफ्नो श्रमले कमाउने असल मानिसको दान मात्र ग्रहणीय हुन्छ । समाजसेवा पवित्र र अनुकरणीय कार्य हो । खुला हृदयले गर्ने दान प्रेरक कार्य हो, जसले समाजका अन्य मानिसका लागि गलत ढङ्गले पैसा कमाउनेभन्दा आफ्नो मेहनतले कमाउने र कमाएको एक अंश समाजसेवामा समर्पण गर्ने महान हुन्छन् भन्ने सच्चाइलाई प्रमाणित गर्दछ । परोपकारी सोच राख्ने असल भावनाका धनी, उदारहृदयी मनहरूलाई सदैव शुभकामना र साधुवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here