भद्रपुर झापा गोल्डकपको साधारण सभा सम्पन्न

0
10

भद्रपुर ।

भद्रपुरस्थित मेची रंगशालाको संरक्षण, सम्बद्र्धन र विकासको उद्देश्य राखेर स्थापना गरिएको भद्रपुर झापा गोल्डकपको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

मेची रंगशाला आयोजित गोल्डकपले सोही अवसरमा झापा जिल्लाका वरिष्ठ फुटबल प्रशिक्षक अर्जुनधारा निवासी भगीरथ आले (मामा) लाई सम्मान गरेको छ । प्रथम भद्रपुर झापा गोल्डकपमा म्याच कमिशनर भएर खेलको महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्दै झापा जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका आलेलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।

गोल्डकपका अध्यक्ष दीपेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आम्दानी खर्चको बारेमा गोल्डकपका सह कोषाध्यक्ष अजय साहेवालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्था गठन भएको १५ महिनाभित्र रंगशालामा दुई वटा ठुला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रथम गोल्डकपबाट ३ करोड ३० लाख १६ हजार ३३८ रुपैयाँ आर्थिक संकलन भएकोमा ७१ लाख ५५ हजार ५६३ रुपैयाँ बचत भएको थियो ।

आजीवन तथा विशिष्ट आजीवन सदस्यहरूबाट २९ लाख २६ हजार ४३९ रुपैयाँ अझै उठ्न बाँकी छ । त्यस्तै प्रथम जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताबाट २४ लाख ९३० रुपैयाँ आर्थिक संकलन भएकोमा ७ लाख ६४ हजार ५४९ रुपैयाँ बचत भएको थियो । गोल्डकपमा ७ लाख ९४ हजार ६०३ रुपैयाँ बराबरको जिन्सी सामाग्री रहेको र एक्सेल डेभलपमेन्ट बैंकमा रहेका संस्थाको २ वटा खाता, राष्ट्रिय वाणिज्य बैंक र नगद गरी ८२ लाख ९१ हजार ८७ रुपैयाँ २६ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री कार्कीले रंगशालाको स्तरोन्नतिका लागि प्रदेश सरकारले लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले रंगलाशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि लाइट जडानका लागि सङ्घीय सरकारसँग पहल गर्नुका साथै प्रदेश सरकारले आगामी बजेट प्याफिट निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने बताए ।

स्वागत मन्तव्य गोल्डकपका उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत) ले गरेको राखेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, कोशी प्रदेश सांसद छविलाल चुँडाल, निमसरि राजवंशी, पूर्व प्रदेश सांसद वसन्त बानिया, भद्रपुर नगरका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।

सोही अवसरमा सौर्यै एयरलाइन्स तथा ओम साइ पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेलले २०८१ मा हुने दोस्रो संस्करणको गोल्डकपमा टाइटल स्पन्सर गर्दै २५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here