रत्नबहादुर बस्नेत,
शिवसताक्षी।
लक्सम्बा,लक्सम,लोक्ताम कूल वंश समाजले गालीश्राप बहन्ती(माङ्गदे वदेम्मा) भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
लक्सम्बा, लक्सम, लोक्ताम कूल वंश समाज केन्द्रीय समितिको आयोजनामा शिवसताक्षी -१०, दोमुखामा कूल वंश साम्बा (पुरोहित) द्वारा मन्धुम वाचन गरी गालीश्राप वहन्ती पूजासहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
लक्सम्बा, लक्सम, लोक्ताम कूल वंश समाजका केन्द्रीय अध्यक्ष सुरजविक्रम लक्समको अध्यक्षता तथा शिवसताक्षी नपा-७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष रिमानध्वज लोक्तामले स्वागत गरेका थिए।
आफ्ना कूलवंशका पूर्वजहरुले जानीनजानी गरेको गालीश्राप,पापादि बगाएर शुद्ध बन्ने विधिविधान धार्मिक अनुष्ठानसँगै तीन दाजुभाइ कूलवंशको भेटघाट गर्ने कार्यक्रमको आयोजना २०७१ सालदेखि हरेक तीन वर्षमा समाजले गर्दै आएको अध्यक्ष सुरज विक्रम लक्समले जानकारी दिए।
कार्यक्रममा कूलवंश समाजद्वारा प्रकाशित भित्तेपात्रो सार्वजनिक गर्नुकोसाथै संस्थामा योगदान गर्ने बेलायत निवासी वीरेन्द्र लोक्ताम, शम्सेर लक्सम,योगेन्द्र लक्सम, नरवीर लक्सम र समाजका हङकङ संयोजक शेरबहादुर लक्सम्बालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि चेम्जोङ, समाजका केन्द्रीय सहसचिव बुद्धिमान लक्सम्बा, इलाम जिल्ला सभापति मदन लोक्ताम, झापा जिल्ला सदस्य क्षितिज लक्सम्बालगायतले शुभकामना मन्तव्य राखेका थिए। जातीय नृत्य केलाङ प्रस्तुत गरिएको कार्यक्रममा गायक हिमाल लिम्बूले पालाम तथा गीत प्रस्तुत गरेका थिए।
देशका विभिन्न जिल्ला, भारत, हङकङ, बेलायत,भुटानमा गरी करीब ५ सयको संख्यामा लक्सम्बा लक्सम लोक्तम जातीको बसोबास रहेको कूलवंश समाजका उपाध्यक्ष रिमानध्वज लोक्तामले बताए।
समाजका सल्लाहकार समिति संयोजक सुरज लक्सम, सदस्य भरत लोक्ताम, कालेङपोङ संयोजक दलबहादुर लक्सम, दाता देवराज लक्सम्बा, जनप्रतिनिधि बिजुलीप्रसाद योङहाङ, दलबहादुर योङहाङ, केन्द्रीय पदाधिकारी, झापा,इलाम, पाँचथर, मोरङ, ताप्लेजुङ, सुनसरी जिल्लाका विभिन्न पदाधिकारीको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव धर्म लक्सम्बाले गरेका थिए।