पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

0
8

फुङ्लिङ (ताप्लेजुङ),

जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीयवासीको अनुमान छ । गएको दसैँ तिहारको अवधिमा झण्डै पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले सिङ्जेमा ताल क्षेत्रको भ्रमण गरेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो ।

हाल निर्माणाधीन तमोर कोरिडोर सडक नयाँ वर्षको बेला आलोङचुङगोला जोडिने भएपछि सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुने वडाध्यक्ष लामाको अनुमान छ । उहाँका अनुसार पूर्वको विभिन्न जिल्ला र काठमाडौँ लगायतका ठाउँबाट सिङ्जेमा क्षेत्रमा पर्यटक आउने गर्छन् । नयाँ वर्षमा करिब छ सयको संख्यामा आन्तिरक तथा बाह्य पर्यटक आउने अनुमान स्थानीयवासीको छ ।

सिङ्जेमा ताल फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलामा पर्दछ । यो ताल ओलाङचुङगोलाको बस्तीबाट एक दिनको पैदल दुरीमा अवस्थित छ । समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालकोे क्षेत्रफल र गहिराईको मापन हुन सकेको छैन । ताललाई एक फन्को लगाउन एक घण्टा भन्दा बढी समय लाग्छ । प्राकृतिक रुपमा मनोरम मात्रै नभइ स्थानीयले यस ताललाई धार्मिक महत्वको रुपमा पनि लिने गरेका छन् । तालमा भाकल गरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने स्थानीयवासीको विश्वास छ ।

तालसँग जोडिएका केही पुराना किंवदन्ती छन् । स्थानीयका अुनसार यस तालको किनारमा एकजना स्थानीय भोटे बसिरहेको बेला तालबाट एउटा चौंरी निस्कियो । त्यो चौंरीको गोबर भोटेले घरमा लगेपछि उनी धेरै सम्पन्न भएका थिए । स्थानीय फुजुङ शेर्पाका अनुसार धेरै वर्ष अगाडि त्यस तालको छेउमा भेडीगोठ बस्दा पोखरीबाट एउटा भेडाको थुम्बा निस्केर बगालमा मिसियो । त्यसलाई गोठालाले मारेर खाए । त्यसपछि फेरि तालबाट दुई वटा भेडा निस्कियो । ती दुई भेडाले बगालको सबै भेडालाई सुंघे ।

त्यसपछि बगालको सबै भेडा तालमा पसे र हराए । तालको उत्तरतिर पूजा गर्नको लागि एउटा थान बनाइएको छ । यस थानमा त्यहाँ पुग्ने जो कोहीले भाकल गर्ने चलन छ । तालमा जाँदा बिहान चोखो मुखमा जाने र आफुसँग जे छ त्यही चढाउने चलन छ । त्यसैले प्राय दर्शनार्थीले पूजा थानमा गरगहना, घडी, औंठी, चुरा लगायतका सामान चढाएको देखिन्छ । कसैले सुन, चाँदी पैसा नगद सिक्का चढाउने गरेका छन् । तर ती भेटी, गहनाको संकलन र उचित व्यवस्थापन हुनसकेको छैन । कतिपयले तालमा पुगेपछि आफ्नो भाग्य देख्न सक्छन् भन्ने विश्वास समेत छ ।

सिङ्जेमा ताल पुग्नको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि तमोर कोरिडोरको कच्ची सडक भएर गाडीमा ओलाङचुङगोला सम्म जान सकिन्छ । ओलाङचुङगोला पुगेर भोलिपल्ट जदाक, देउमा हुँदै तालभन्दा दुई-तीन घण्टा मुनिको छेर भन्ने ठाउँको चौंरीगोठमा बास बस्न पुग्नुपर्दछ । तालक्षेत्र जाने बाटोमा होटल, चिया पसल जस्ता कुनै आवासीय सुविधायुक्त घर छैनन् । आफुलाई आवश्यक सामग्री आफैले बोक्नुपर्दछ । चौंरी गोठमा खाना, चिया र सुत्नका लागि सामान्य व्यवस्था हुन्छ ।

चौंरीगोठबाट भोलिपल्ट तीन-चार घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ । तालको अवलोकन र दर्शन पश्चात गोठमा आइपुगेर खाना खाएर ओलाङचुङगोलासम्म फर्किन सकिन्छ । व्यवस्थित यात्राका लागि टेन्ट, स्लिपिङ ब्याग लगायतको सामग्री लिएर जान सकिन्छ । ताल क्षेत्रमा जाने उपयुक्त मौसम बैसाख अन्तिम देखि असोज पहिलो हप्ता सम्म हो ।

बैसाखदेखि असोजसम्म यस क्षेत्रमा गोठ बस्ने भएकाले बास बस्न सजिलो हुन्छ । अरु बेलामा गोठ नबस्ने र चिसो मौसममा हिउँ पर्ने भएकाले यात्रा कठिन हुने गर्दछ । त्यसो त यस तालको दर्शन गर्न जाने परम्परा धेरै पुरानो हो । तर त्यतिबेला यहाँ पुग्नेहरु ओलाङचुङगोला आसपासका मात्रै हुन्थे । लेलेप, तापेथोक, लुङथुङ, हेल्लोक, इखाबु, लिङखिम, खेजेनिम क्षेत्रका मानिस तालको दर्शनमा जाने चलन थियो । यो तालको बारेमा ती स्थानीयबासीलाइ बाहेक थाहा थिएन । तर पछिल्लो समय सिङ्जेमा तालको दर्शनमा जानेको सङ्ख्या बद्दो छ ।

गतवर्षको बैसाख अन्तिमतिर दैनिक पर्यटकको एक समूह ताल भ्रमण गर्न गएका थिए । स्थानीय गोठवाला तेम्बा शेर्पाले पर्यटकीय यामको बेला दैनिक छ देखि १२ जनासम्मलाई खाना र बास दिँदै आएको बताउनुभयो ।

पैदल हिँड्ने बाटोमा जम्मा तीन वटा चौंरी गोठ मात्र छन् । गोठवालाले ताल घुम्न आउने पर्यटकलाइ लक्षित गरी चामल, तरकारी, नून, तेल, मसला र ओढ्ने ओछ्याउनेको व्यवस्था गरेका छन् । एउटा गोठमा दश जनासम्मलाई बास दिन सकिने स्थानीय गोठाला फुजुङ शेर्पाले बताउनुभयो । विगतमा साउन र भदौमा मात्रै ताल घुम्न आउने भएपनि अहिले तालको प्रचारप्रसार भएसँगै बैसाख लाग्नुअघिदेखि पर्यटकको आगमन हुन थालेको स्थानीय तेम्बा शेर्पाको भनाइ छ ।

ओलाङचुङगोलाबासीका अनुसार युट्युबर र सामाजिक सञ्जल प्रयोगकर्ताले तालको प्रचार गरेपछि पर्यटकको आकर्षण बढेको हो । ताल भ्रमण गर्न वार्षिक कति पर्यटक आए भन्ने तथ्याङ्क राखिएको छैन । सिङ्जेमा ताल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकार र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को हो ।

सिङ्जेमा तालमा पछिल्लो समय चलचित्र छायाङ्कन, वृत्तचित्र बनाउनेको सङ्ख्या बढेको छ । यस क्षेत्रमा चलचित्र, वृत्तचित्र खिच्न र ड्रोन क्यामरा प्रयोग गर्न परिषद्को स्वीकृति अनिवार्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here