टोल कप लिग फुटबल प्रतियोगिता–२०८० को उपाधि टोल नं.२ लाई

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित सिस्नेमा जारी टोल कप लिग फुटबल प्रतियोगिता–२०८०को उपाधि टोल नं. २ ले जितेको छ ।

स्थानीय शहीद टेक–मान रंगशालामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा टोल नं.३लाई १–२ गोल अन्तरले पराजित गर्दै टोल नं.२ ले उपाधि जितेको हो ।

टोल नं.२को जीतको लागि खेलको १२औं मिनेट र ६०औं मिनेटमा क्रमश विशाल माझी र दीपक मगरले गोल गरेका थिए । यता दोस्रो हाफको थप समयमा टोल नं.३का लागि हिमाल ठकुरीले सान्तवना गोल गरेका थिए ।

जितसँगै टोल नं.२ ले नगद पुरस्कार १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी उपविजेता टोल नं. ३ले नगद पुरस्कार पाँच हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको बेस्ट गोलकिप्पर उदय राई(टोल नं.१), बेस्ट डिफेन्स सुनिल लोहार(टोल नं.३), बेस्ट मिडफिल्डर मनोज राई(टोल नं.२), बेस्ट स्ट्राइकर गणेश गजमेर (टोल नं.३), हाएस्ट स्कोरर विशाल माझी(टोल नं.२), राइजीङ प्लेयर शंकर आचार्य(टोल नं.१) र फाइनल खेलको म्यान अफ दी म्याच सनम मगर(टोल नं.२) भएका थिए ।

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष उपेन्द्र बस्नेत, सदस्यहरु इन्द्रकुमारी विश्वकर्मा, दिनेशकुमार घिमिरे र मदनकुमार लिमेल मगरलगायतले पुरस्कारहरु वितरण गरेका थिए ।

चालु आर्थिक वर्ष ०८०÷०८१को विनियोजित बजेटबाट सञ्चालन गरिएको उक्त प्रतियोगितामा विभिन्न खेलाडीहरुलाई नगद पुरस्कार जनही एक हजारसहित प्रशंसा पत्रबाट सम्मानित गरिएको आयोजक युवा तथा खेलकुद समितिका अध्यक्ष तिवेन्द्र काफ्लेले जानकारी दिए । यसरी सम्मानित हुने खेलाडीहरुमा एथलेटिक्सका प्रेम तामाङ र रचना गौतम, करातेकी गुँरास लिम्बू, क्रिकेटका सुनिल आचार्य, फुटबलका कुन्जन बल तामाङ, मन्जिला योङहाङ र मिराज मल्ल तथा भलिबलका आकाश विष्ट रहेका छन् ।

त्यस्तै कार्यक्रममा अन्तर पालिका लिग फुटबल प्रतियोगिता–२०८०का विजेता अर्जुनधारा नगरपालिकाको टिममा आबद्ध स्थानीय खेलाडीहरु गणेश गजमेर, प्रविन वि.क. र सचिन सारु मगरलाई वडा नं.१ कार्यालयकोतर्फबाट नगद पुरस्कार जनही पाँच हजारसहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

पाँच वटा टोलको सहभागिता रहेको उक्त प्रतियोगिता गत चैत २३ देखि सञ्चालन भएको थियो । समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सीता खतिवडाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here