सत्य र न्यायको प्रतिक दशैं

0
10

नेपालीहरुको महान पर्व दशैंकै प्रतिबिम्ब दिने चैते दशैं आज मनाइँदैछ । यद्यपि असोज–कात्तिकमा पर्ने दशैंलाई वडा दशैं भनिन्छ, तर पुरानो भनाइ अनुसार चैतमै दशैं मनाउने गरिएको थियो । तर, उक्त समयमा सुख्खा र गर्मी भएकाले बिरामी पर्ने गरेकाले असोज महिनामा दशैं मनाउन थालिएको मान्यता रहेको छ । भारत, बर्मा, बंगलादेश लगायतका देशमा समेत रामनवमी र चैते दशैं विशेष ढंगले मनाउने गरिन्छ । दशैं दानवी शक्ति माथि दैवीशक्तिको विजयको प्रतिक हो । मर्यादा पुरुष भगवान श्री रामचन्द्र आफ्नो चौध वर्षे बनवासको समय पूरा गरेर आफ्नो ठाउँ अयोध्या फर्किएको खुशीयालीमा दशैं मनाउन थालिएको धार्मिक मान्यता छ ।

देवी दुर्गाले दानवी शक्तिको नाश गरेको खुशीयालीमा नौ दिनसम्म देवीको विशेष पूजाअर्चना गरिन्छ । नवरात्र भनिने रामनवमीलाई भगवान रामको जन्मदिनका रुपमा लिइन्छ । त्रेतायुगमा चैत शुक्ल नवमीका दिन अयोध्यानगरका राजा दशरथ र महारानी कौशल्याका पुत्रका रुपमा जन्मिएका श्रीरामलाई भगवान विष्णुको सातौं अवतारका रुपमा लिइएको छ । पृथ्वीमा जब–जब विधर्मीहरु बढ्छन्, जब–जब असत्यको दबदबा हुन्छ, तब–तब भगवान विष्णुले विभिन्न अवतारमा जन्म लिनुहुन्छ भने हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्वीहरुले आजको दिन श्रद्धा, भक्ति र आराधनाका साथ विभिन्न देशमा भगवान रामको जीवन कथा झल्किने नाटक, सभा, भजनकिर्तन जस्ता कार्यक्रमहरुको आयोजना गरेर मनाउँछन् । असत्य र अन्याय माथि सत्य र न्यायको विजय भएको दिन देशमा रहेका मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्नेहरुको घुइँचो रहन्छ । भगवान श्रीराम उनको सत्यता, निष्ठा, मर्यादा र कर्तव्य परायणताले सम्मानित छन् । उनको तिनै गुण र विशिष्टता नेपालीका लागि अनुकरणीय हुनु पर्छ । आजको दिनले सत्य र न्यायको पक्षमा लाग्न सबैलाई प्रेरणा प्रदान गरोस् रामनवमीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here