सामुदायिक विद्यालयमा सहयोग शुल्क उठाउन नपाइने

0
8

झापा ।

दमक नगरपालिकाले सामुदायिक विद्यालयलाई कुनै पनि वहानामा विद्यार्थीसँंग सहयोग शुल्क नलिन निर्देशन दिएको छ । दमक नगरभित्र २७ वटा सामुदायिक विद्यालयहरू छन् । नगरपालिकाको निर्देशनसँंगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यो शैक्षिक सत्रदेखि सहयोग शुल्क बुझउनु नपर्ने भएको हो ।

नगरपालिकाको निर्देशनसँंगै अब आधारभूत तह अर्थात् कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा रकम बुझाउनु पर्दैन । निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्क लगायतका विभिन्न शिर्षकमा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आएको थियो ।

नयाँ शैक्षिक सत्र शुरु भएसँगै नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यार्थीबाट एक रुपैयाँ पनि नलिन निर्देशन दिएको छ । विद्यार्थीको सङ्ख्याको आधारमा नगरपालिकाले रकम प्रदान गर्ने नगर प्रमुख रामकुमार थापाले बताएका छन् । निजी श्रोतका शिक्षकका लागि तलब खुवाउन, अग्रेंजी माध्यमबाट पठनपाठन गराउन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएका थिए ।

संविधानमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भने पनि यसको कार्यान्वयनमा समस्या भएकाले आफूहरूले शुरुवातमा कक्षा ५ सम्म यस्तो व्यवस्था गरेको र आगामी शैक्षिक सत्रमा थप बजेट विनियोजन गरेर अघि बढ्ने योजना रहेको नगर प्रमुख थापाले बताए ।

दमकमा नाम चलेका हिमालय, सरस्वती , ढुकुरपानी माध्यमिक विद्यालय लगायत अधिकांश विद्यालयहरूले व्यवस्थापन समितिको निर्णय अनुसार भन्दै विद्यार्थीहरूसँगै मासिक रूपमा नै पैसा उठाउँदै आएका थिए । कक्षा ५ भन्दा माथि अहिले पनि उनीहरूले सहयोग शुल्क भन्दै विद्यार्थीबाट रकम उठाउँदै आएका छन् ।

नगर शिक्षा परिषद् र नगर कार्यपालिकाबाट निर्णय गरेर यो व्यवस्था गरिएको बताइएको छ । विद्यालयहरूले नगरपालिकाको परिपत्र र निर्देशन विपरीत शुल्क उठाएमा त्यस्ता विद्यालयहरूलाई कारबाही गरिने पनि थापाले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here