मकवानपुरबाट झापा र मोरङ आएर चोरी गर्ने ६ जना पक्राउ, यसरी बनाउने गर्थे योजना

0
44

झापा ।

‘हाइटेक’ प्रविधि अपनाउँदै मकवानपुरबाट आएको गिरोहले झापाका सहकारीमा चोरी गर्ने गरेको रहस्य खुलेको छ । सहकारी चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेसँंगै सहकारीमा हाइटेक प्रविधि अपनाएर चोरी हुने गरेको रहस्य खुलेको हो ।

चोरीमा संलग्न ६ जनालाई प्रहरीले उपकरणसहित सुनसरीको इटहरीबाट पक्राउ गरेको हो । झापा र मोरङ्का विभिन्न सहकारीमा चोरी गर्दै आएका मध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ का ३० वर्षीय सोमलाल स्याङ्तान, सोही ठाउँका २१ वर्षीय सन्तवहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २४ वर्षीय वुद्ध स्याङ्तान,२६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका –८ फाखेलका २८ वर्षीय अजय राना मगरलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनीहरुले झापाको शिवसताक्षी नगरपालिका –४ मा रहेको साना किसान कृषि सहकारी संस्था लि पाँचगाछी, गौरादह नगरपालिका –९ मा रहेको सुलभलक्ष्मी बचत तथा सहकारी संस्था लि, सोही ठाउँको वडा नम्वर –५ मा रहेको साना किसान महिला कृषि सहकारी संस्था लि., महारानी झोडा बचत तथा ऋण सहकारी संस्था लि, जनहित बचत तथा ऋण सहकारी संस्था लि. लगायतका विभिन्न १३ वटा सहकारी संस्थाबाट फरक– फरक मिति र समयमा ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न गिरोह मोरङका विभिन्न स्थानमा लुकिछिपि बस्ने गरेको सूचना पाए लगत्तै प्रहरीले खोज तलास तीब्र बनाएको थियो । उनीहरु सुनसरीको इटहरी क्षेत्रमा लुकिछिपि बसेको अवस्थामा इटहरी उपमहानगर पालिका –६ मा रहेको न्यू विशाल होटल एण्ड गेष्ट हाउसको कोठा नम्वर ६ बाट जिल्ला प्रहरी कार्यालय झापा तथा सुनसरी प्रहरीको सहयोगमा उनीहरुलाई बैशाख ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । विगत दुई महिनादेखि हप्तैपिच्छे झापा तथा मोरङका सहकारी चोरी गरी ठूलो चुनौति दिए पछि झापा प्रहरीले सुक्ष्म ढङ्गबाट अनुसन्धान शुरु गरेको थियो ।

चोरी गर्न मकवानपुरबाट झापा

झापाका सहकारीमा चोरी गर्ने गिरोह मकवानपुरबाट आएको खुलेको छ । उनीहरुले उच्च प्रविधिको प्रयोग गरेर चोरी गर्ने गरेको खुलेको छ । चोरीमा संलग्न मध्ये सुजनले चोरीको योजना बनाउने र अन्य पाँच जनालाई विभिन्न जिम्मेवारी सहित खटाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरु झापा, मोरङ र सुनसरीका विभिन्न होटलमा बसेर योजना बनाउने र चोरी गर्न परिचालित हुने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । मनवानपुरबाट चोरी गर्न झापा तथा मोरङमा बाइकमा आएर चोरी हुने दिन मात्रै उनीहरु होटलमा बस्ने र चोरी सकेर सिधै मकवानपुर नै जाने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । चोरी पछि उनीहरुले सीसीटीभीको रेकडिङ्ग डिभइस समेत लैजाने गरेका थिए । त्यसैले प्रहरीलाई अनुसन्धानमा चुनौति थपिएको थियो । तर झापाका अनुसन्धानमा अब्बल प्रहरीले उनीहरुलाई निरन्तरको अनुसन्धानमा पक्राउ गर्न सफल भएका हुन् ।

सुजनले गुगल म्यापको प्रयोग गरी झापा तथा मोरङका विभिन्न सहकारीको कार्यालय तथा त्यस स्थानको वस्तुस्थितिका बारेमा वुझ्ने गरेको खुलेको छ । उनले जीपीएस कन्ट्रोल गर्दै अन्य पाँच जनालाई चोरीमा खटाउने गरेको खुलेको हो ।

उनले चोरीमा सहभागी अन्य पाँच जनालाई सहकारीको अवस्था, प्रहरी चौकी कति नजिक वा टाढा छ, कुनै आपतकालीन अवस्था आएमा कुन बाटो प्रयोग गर्नेसम्मका विषयमा जानकारी गराउँदै जीपीएसको प्रयोग गरेर निर्देशन दिने गरेको खुलेको हो । चोरीमा संलग्न मध्ये अजय, र सन्तवहादुर भने चालकको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न मध्ये वुद्ध र सोमलाल भने सहकारी भित्र प्रवेश गर्दै चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ भने सुनिल भने बाहिर बसेर अन्य मानिसको निगरानी गर्ने गरेको बताइन्छ ।
उनीहरुले बेलुकाको समयमा होटलबाट निस्किएर सहकारीको कार्यालयको निगरानी गर्ने र कार्यालयमा कोही पनि नभएको अवस्था पाएमा तत्कालै कार्यालय तोडफोड गर्दै रकम चोरी गर्ने गरेको खुलेको छ । चोरीमा संलग्नमध्ये वुद्ध र सोमलालले बढी रकम लाने तथा मुख्य योजना बनाएका सुजनलाई समेत मोटो रकम वुझाउने गरेको पाइएको छ ।

चालक तथा रेखदेख गर्नेहरुले एक सहकारीमा चोरी गर्दा १० देखि १५ हजार रुपैयाँसम्म भागमा पर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । चोरीमा संलग्नलाई चोर डाका कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here