आज लोकतन्त्र दिवस

0
5

प्रत्येक वर्षको बैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ । चलनचल्तीको शब्दमा डेमोक्रेसी भनिने यसलाई प्रजातन्त्र पनि भनिन्छ । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरु मध्ये ०६२/०६३ सालमा भएको बृहत् प्रदर्शन र आन्दोलनले गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउन खेलेको भूमिकाको सम्मानमा मनाउन थालिएको यो दिवस समग्र जनताद्वारा शासन गर्ने प्रणालीको पर्याय हो । आन्दोलनले सफलता प्राप्त गरेको अवधि झण्डै दुई दशक हुन लागेको छ, तर परिवर्तित व्यवस्थाले जनतालाई के दियो ? जनता कति सार्वभौम, शक्तिशाली र समृद्ध भए ? वा राष्ट्र आर्थिक, भौतिक र प्रतिष्ठाका हिसाबले कति बलियो भयो ? त्यसको हिसाब खोज्ने बेला आएको छ ।

नयाँ शब्दावली अनुसार नै लोकतन्त्र भनेको जनताको प्रत्यक्ष शासन व्यवस्था हो । लोकतन्त्रमा जनता यति शक्तिशाली हुन सक्छन् कि उनीहरुले नै शासन सत्ता सञ्चालन गर्छन् । कुनै वंश विधानद्वारा सञ्चालित तथा निर्देशित राज्यव्यवस्था लोकतान्त्रिक हुन सक्दैन, त्यसले सुशासनको पनि अनुभूति गराउँदैन भनेरै आमजनताले जीवन समर्पण गरेको परिणाममा राजतन्त्रको अन्त्य भएको थियो । जनताकै मुक्ति र स्वतन्त्रताका लागि भन्दै भएको सशस्त्र हिंसामा हजारौंले मृत्युवरण गरेका थिए, नयाँ नेपालको खाका कोरिएको पनि थियो । हो त्यही सत्ता र प्रदर्शनकारीबीच भएको सहमतिले भएको उन्नाइस दिने सशक्त आन्दोलनले यो निकास विन्दु दिएको हो ।

कठोर संघर्ष र सामुहिक संलग्नताले परिवर्तन गरेको सुखद् दिनको पुनस्मरण हो आज । यद्यपि आन्दोलनले नयाँ संविधान दियो, सामुहिकता र सहमतिको दस्तावेज भनिएको नेपालको संविधान २०७२ पनि दियो । गणतान्त्रिक, लोकतान्त्रिक र समावेशीपूर्ण शासन व्यवस्थाको प्रत्याभूति पनि ग¥यो । तर, राजनीतिक शासन प्रणालीमा भने सुधार भएको अनुभूति हुन पाएको छैन । बलियो आधार हुनुपर्ने प्रदेश सरकार जहिल्यै अस्थिर छन् । केन्द्रमा गठबन्धन बन्न र भत्किन कुनै बार र तिथि कुर्नु पर्दैन । त्यसको असर तत्क्षण प्रदेशमा देखिन्छ । कतै अंशबण्डा नमिलेर सरकार पूर्ण हुन सकेको छैन भने कति वानर न्यायको कैदी भएका छन् । स्वायत्त भनिने प्रदेश सरकार केन्द्रको हस्तक्षेपले संघीयता नै जगहँसाइको विषय बनिएको छ । यसले लोकतन्त्रलाई कमजोर पार्दैछ । यही समय कोशी प्रदेशमा सरकार, दलहरु र सांसदहरुको व्यवहार, गण्डकीमा सर्ने डर बढेको छ । यस्तो अस्थिर, अनिश्चित, अराजनीतिक र अलोकतान्त्रिक चरित्र, व्यवहार र परिपाटी बलियो भइरहेका बेला, सत्ताकै वरिपरि बसेका दलहरुले आफूलाई सुधार्न सकेनन् भने प्राप्त उपलब्धी ‘पानीको फोका’ हुन बेर लाग्दैन । त्यसैले आजको दिनले सबै राजनीतिक दलहरुलाई चेतना दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here