लागूऔषध नियन्त्रणमा सशस्त्रको ‘डग स्निफिङ’, हालसम्म झापामा ११ जना समातिए

0
9

पार्थ मण्डल,
भद्रपुर ।

पूर्वी जिल्ला झापा प्रतिबन्धित लागूऔषध ओसारपसार गर्ने मुख्य ट्रान्जिट बन्दै गएको छ । भारतको पश्चिम बंगाल र विहारसँग खुला सीमा जोडिएको झापामा लागूऔषध ओसारपसारको अवस्था भयावह छ ।

जिल्लाको मुख्य दुई नाका काँकरभिट्टा र भद्रपुरसहित अन्य नाकाहरूबाट लागूऔषध (ब्राउन सुगर) भित्रिरहेको र यहाँका सुरक्षाकर्मीहरूले दिनैपिच्छे पक्राउ गरिरहेको छ । तरपनि ब्राउन सुगर भित्रिने क्रम रोकिएको छैन । कारोबारीले आफंै वा प्रयोगकर्ताहरूलाई नै प्रयोग गरी ब्राउन सुगर भित्र्याइरहेको पाइएको छ ।

लागूऔषधको अवस्था जिल्लामा भयावह देखिएसँगै सशस्त्र प्रहरीले यसको रोकथाम तथा न्यूनीकरणका लागि कुकुर (डग) स्निफिङसहितको अभियान शुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालले जिल्लामा लागूऔषध नियन्त्रणका लागि तालिम प्राप्त ल्यावरोडर जोजो नामको कुकुर र विस्फोटक पदार्थको लागि जुलिएट नामको कुकुर स्थायी रुपमा पठाइसकेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राईले जानकारी दिए ।

गत असोज २६ गते झापा ल्याइएको जोजो र जुलिएट कुकुरका लागि चार जना तालिम प्राप्त सशस्त्र प्रहरी खटाइएको छ । दुवै कुकुरलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकरभिट्टामा राखिएको छ । लागूऔषध र विस्फोटक पदार्थ नियन्त्रणका लागि दैनिक रुपमा काँकरभिट्टा नाकामा डग स्निफिङ गरिरहेको एसपी राईले बताए ।

सशस्त्रले विशेष गरी लागूऔषध नियन्त्रण तथा रोकथामका लागि काँकरभिट्टा बाहेक भद्रपुरसहित अन्य नाकाहरू पनि छड्के डग स्निफिङ गरिरहेको उनको भनाइ छ । सशस्त्रको जोजो नामको कुकुरले सोमबार साँझ ६ बजे मेचीनगर–६ स्थित मेची पुलमा धादिङ खन्याबास गाउँपालिका–५ निवासी २० वर्षीय विनोद तामाङलाई ४३.१५ ग्राम ब्राउन सुगरसहित पक्राउ गर्न सहयोग गरेको छ ।

भारतको पानीट्यांकी नाकाबाट नेपालतर्फ आउँदै गरेका तामाङले कन्डमभित्र ब्राउन सुगर हाली शरीरमा लुकाएर लैजान खोजेका थिए । सोही बेला जोजो नामको कुकुरले उनको शरीर सुँघेर ब्राउन सुगर निकालेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डीएसपी दिनेश कुटवालले जानकारी दिए ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बुझाइसकेको उनले बताए । त्यस्तै सशस्त्रले कुकुरको सहयोगमा गत पुस ६ गते जुत्ताभित्र ब्राउन सुगर ल्याउने जिल्ला लमजुङ सुन्दरनगर नगरपालिका– ९ निवासी २९ वर्षीय दीपक गैरेलाई पक्राउ गरेको थियो ।

गैरेलाई मेचीनगर–६ मेची पुलस्थित सीमा नाकाबाट १९.६३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो । जुत्ताभित्र लुकाएर ल्याएको ब्राउन सुगर कुकुरले सुँघेर पत्ता लगाएपछि उनी पक्राउ परेका थिए । हालसम्म तालिम प्राप्त कुकुरले १०५.०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइसकेको सशस्त्रका एसपी राईले बताए ।

‘सशस्त्रले सीमा सुरक्षासँगै अहिले लागू औषध भित्र्याउनेमाथि विशेष निगरानी बढाएको छ,– उनले भने, –लागूऔषधको अवस्था जिल्लामा भयावह छ, सशस्त्रले काँकरभिट्टा, भद्रपुरसहित अन्य नाकाहरूबाट पनि लागूऔषध बरामद गरिरहेको छ । लागूऔषध नियन्त्रणका लागि नेपाल प्रहरीसहित भारतीय एसएसबीसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ । यता नेपाल प्रहरीले पनि जिल्लाका विभिन्न स्थानबाट दिनहुँजसो लागूऔषध प्रयोगकर्ता र कारोबारीलाई पक्राउ गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here