चिया क्षेत्र धरासायी नहोस्

0
5

नगदेबालीको उपमा पाएको नेपाली चिया उद्योगले त्यसको निर्यातमा झन्झट व्यहोर्नु परेको घटना नौलो होइन । सम्पूर्ण उपभोग्य वस्तुमा परनिर्भता बढिरहेका बेला चियामा भने आत्मनिर्भर मात्र होइन वैदेशिक आयको मूल आधार रहेको चिया क्षेत्रले बारम्बार हैरानी व्यहोर्नुपर्ने घटना सुखद् होइन । यतिखेर भारतीय पक्षले नेपालबाट जाँचपास भएर प्रवेश गरेका चिया बोकेका गाडीहरुलाई सीमा बजार पानीट्यांकीमा रोकेको छ । १८ टन चिया लोड भएका ती गाडी सडकमै असुरक्षित भएर रोकिनुपर्दा चियाको गुणस्तर पनि नष्ट हुने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । अनुमति नपाएर रोकिँदा दिनहुँ ठूलो आर्थिक क्षति समेत व्यहोर्नु परेको उनीहरुले गुनासो गरेका छन् ।

विभिन्न बहानामा नेपाली कृषि वस्तुको निर्यातमा ‘बखेडा’ झिक्नु भारतीय पक्षको नियमितता नै हो । कहिले अदुवादेखि फलफूल लगायतका कृषि वस्तुको निर्यातमा दुःख दिने गरेको भारतलाई प्रभावकारी संवाद र कुटनीतिक प्रयासले रोक्नुपर्ने आममानिसको भनाइ छ । पछिल्लो समय भारतले हरेक ट्रकमा रहेको चियाको अलग–अलग गुणस्तर परीक्षण गर्नुपर्ने नयाँ नियम लगाएको छ । परीक्षण सीमा बजारमा नभई दिल्ली, पटना, कोलकातामा पुगेर गर्नुपर्ने नियमले नेपाली उत्पादक, निर्यातक हुँदै उद्योगीहरु हैरान भएका छन् । नेपाली चियाको मुख्य बजार भारत नै हो, त्यस बाहेक अर्थोडक्स चिया तेस्रो मुलुकमा पनि निर्यात हुन्छ । तर, त्यसलाई अग्र्यानिक परीक्षण गराउनु पर्दछ, जुन झन्झटिलो र खर्चिलो पनि हुने व्यवसायी बताउँछन् ।

कूल उत्पादनको ९० प्रतिशत चिया भारतमा निर्यात हुँदै आएको छ । त्यसको ठूलो मात्रा पूर्वीनाका काँकरभिट्टाबाट भारत जाने गरेको छ । नेपालमा गरिएको गुणस्तर परीक्षणलाई भारतले मान्यता नदिने र सीमा बजारमा परीक्षण गर्ने प्रयोगशाला नभएकाले नेपाली चिया व्यवसायीले सधैँ झन्झट व्यहोर्नु परिरहेको हो । यस्तोमा तत्काल समस्याको समाधान नखोजिए रोकिएको चिया मात्र होइन सम्पूर्ण चिया क्षेत्र नै संकटमा पर्ने निश्चित छ । त्यसैले सरकारले यसको दीर्घकालीन समाधान खोज्न ढिला गर्नुहुँदैन । यद्यपि हाम्रो कुटनीतिक क्षमता कमजोर रहेको विगतका अनुभवले सिद्ध गरिसकेको छ । अनि पनि क्षमता बढाउन र समकक्षीसँग छलफल गरेर अनावश्यक र मिचाहा नियममाथि पुनरावलोकन गराउन बाध्य पार्नुपर्छ । त्यसो भएन भने आत्मनिर्भर चिया क्षेत्र धरासायी हुनसक्छ, हजारौंको रोजगार गुम्न सक्छ र त्यसको प्रभाव आमजनतालाई पनि पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here