फूल नफुल्ने फूलबारी

0
7

तुलसीपुर,

दाङको तुलसीपुर उपमहागनरपालिका–१३ फूलबारी दाङको एउटा उपत्यका हो । वरिपरि चुरे पहाडले घेरिएको र बीचमा एउटा बस्ती भएको उक्त उपत्यकालाई ‘तुई दाङ’ भनेर चिन्ने गरिन्छ । हेर्दा निकै सुन्दर छ तर विकासका हिसाबले निकै पछाडि परेको छ । नाम फूलबारी भए पनि त्यहाँ फूलबारी कहिल्यै देख्न सकिँदैन ।

तुलसीपुरका राजनीतिज्ञ शेसुराम भण्डारी भन्नुहुन्छ, “फूलबारीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्छ किनकि यहाँ औद्योगिक क्षेत्रका लागि अति उपयुक्त छ ।” यहाँ उद्योगलाई चाहिने पानी पनि भएको, धुलो, धुँवाका लागि जङ्गल पनि भएको र आवश्यक जग्गा तथा मजदुर पनि पाइने भएकाले उद्योग स्थापनाका लागि विज्ञहरूले समेत उपयुक्त भएको भनी प्रतिक्रिया दिने गरेको उहाँले बताउनुभयो ।

तुलसीपुर निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले पनि फूलबारीमा औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त स्थान भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो विषयमा पटक–पटक सरोकारवालाबीच छलफल पनि हुन्छ, तर त्यो निष्कर्षमा पुग्न सकेको छैन ।”

फूलबारी एकान्त पनि भएकाले यहाँको बस्तीलाई अन्यत्र स्तान्तरण गर्ने र त्यहाँ औद्योगिक क्षेत्रका रूपमा विकास गर्नेगरी पटक–पटक बहस हुने गरेका थिए । त्यो कार्य अध्ययन र बहसमै सीमित भयो । त्यहाँ अन्य विकास पनि तीव्रताका साथ अघि बढ्न सकेको अवस्था छैन ।

त्यसैले पनि यहाँ औद्योगिक क्षेत्र विकास गरेमा त्यहाँको जीवनस्तर उक्सिनेमा स्थानीय पनि आशावादी छन् । “कि त यहाँ राम्रोसँग विकास गरिदिए हुन्थ्यो, कि भने कतिबेला औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा थियो, त्यही गरिदिएर हामीलाई अन्त व्यवस्थापन गरे पनि हामीलाई निकै सहज हुने थियो”, तुलसीपुर–१३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भन्नुुभयो । यहाँका अन्य स्थानीयको भनाइ पनि त्यस्तै छ । स्थानीय लालबहादुर केसीले पनि यहाँको विकास गर्नुपर्ने, नत्र भने अन्य ठाउँमा स्तान्तरण गर्नुपर्ने तर्क राख्नुभयो ।

विकासको अपेक्षा

यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् । पूर्व हुँदै तुईखोला बगेको छ । यहाँका नागरिकले नौ पटकसम्म खोला तर्नुपर्छ । “नजिकमा विद्यालय छैन, कि त घोराहीमा पर्ने रज्जे, मन्नामे जानुपर्छ, कि भने बराखुट्टी आउनु पर्छ, बराखुट्टी जाँदा नौवटा खोला तर्नुपर्छ”, स्थानीय वसन्तखेत निवासी निर्मला नेपालीले भन्नुभयो, “खोलाले बगाउने हो कि भन्ने चिन्ता उत्तिकै छ, वर्षा लाग्यो भने आवतजावत गर्न पनि सकिने अवस्था रहँदैन ।”

वर्षात्मा वारपार गर्न सक्ने अवस्था नरहने समेत उहाँको भनाइ छ । यहाँ कुनै पनि स्थानमा पुल छैन । खोलाहरूमा बनेका सल्याब पनि वर्षात्मा बगाउने गर्छ । सिमलखुट्टीबाट रणीयापुर पुग्दासम्म नौपटक खोला तर्नुपर्छ । टेलिकमको टावर निर्माण भए पनि अझै त्यो टावर सञ्चालनमा आउन सकेको छैन । सडकको अवस्था उस्तै छ ।

ट्रयाक खोलिएको भए पनि त्यसको स्तरोन्नतिका लागि यसअघि कसैबाट पनि पहल नभएको भन्दै त्यहाँका नागरिकले गुनासो गर्ने गर्छन् । पश्चिमको बराखुट्टीबाट साजखुट्टीसम्मको सडकमा ग्राबेल गर्ने, ह्युमपाइप राख्न रु तीन करोड बजेट परेको थियो । त्यही बजेटबाट काम भएको छ । स–साना योजना पर्ने गरेको भए पनि सडक स्तरोन्नतिका लागि उल्लेख्य बजेट नपर्दा समस्या भएको स्थानीय लालबहादुर केसीले बताउनुभयो ।

आयस्रोतको पनि समस्या

यहाँका नागरिकको आयस्रोतको पनि उत्तिकै समस्या छ । आयस्रोत वृद्धि गर्नका लागि स्वरोजगारमुखी कार्यक्रमसमेत ल्याउनुपर्ने स्थानीय देवबहादुर विकले बताउनुभयो । फूलबारीको पूर्वतर्फ साजखुट्टी, वसन्त खेत, सिमलखुट्टी, पनालीबोटलगायत रहेका छन् । यहाँ विकासका योजना नपरेपछि गाउँले आफैँले सक्रिय भएर पनि बाटो खन्ने गरेका छन् ।

यहाँ सरकारी जागिरे, पढेलेखेका मान्छेसमेत उत्पादन हुन नसकेको स्थानीय विकको भनाइ छ । विकासका हिसाबले पछाडि परेपछि शिक्षा, स्वास्थ्यमा पनि निकै प्रभाव पार्ने गरेको उहाँको भनाइ छ ।

तुई दाङ

उपमहानगरपालिकाको विकट क्षेत्रमध्येको एउटा वडा तुलसीपुर–१३ लाई ‘तुई दाङ’ भनेर पनि चिनिन्छ । तुई दाङलाई जिल्लाको अर्को उपत्यकाका रूपमा पनि लिइन्छ । देख्दा सुन्दर देखिन्छ । नामै काफी छ ‘फूलबारी’ । चारैतिर चुरे पहाड अनि बीचमा बसेका सुन्दर बस्ती । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो फूलबारी । समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुई (सानो) दाङले चिनिन्छ ।

घोराही उपमहानगरपालिका र लमही नगरपालिकासँग सिमाना पर्छ । दाङका तीनवटै सहर (तुलसीपुर, घोराही र लमही)को बीच केन्द्र पनि सो क्षेत्र पर्छ । बजारकै केन्द्र पर्ने भएकाले धेरै जनाको गन्तव्य बन्ने गर्छ । देख्दा सबैले बयान गर्ने यो ठाउँको वास्तविक व्यथा भने फरक छ । उपमहानगरपालिकाको एउटा वडा भए पनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीयको भनाइ छ ।

यहाँका नागरिकले सिँचाइ सुविधा माग्न थालेको धेरे भयो तर पनि अझै सम्बोधन हुन नसकेको स्थनीय देवबहादुर विकको गुनासो छ । केही ठाउँमा स्यालो ट्युबेल जोडिएको भए पनि ती ट्युबेलमा पनि पानी आउन छाडेको उहाँको भनाइ छ । सिँचाइ नहुँदा हजारौँ बिघा जग्गा बाँझो राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

आकाशे पानीको भरमा खेती गर्नुपर्ने यहाँका नागरिकको बाध्यता छ । फूलबारीको उत्पादनले वर्षमा तीन महिनामात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी दैनिकी चलाउने भन्ने चिन्ता रहने गरेको उहाँले बताउनुभयो । “अहिले युवाहरू गाउँमा छैनन्, युवाहरू सबै कमाउन कोही भारततिर कोही विदेश गएका छन्”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक र महिलाहरूले नै गाउँ धानेका छन्, जागिरे तथा आम्दानीको अन्य स्रोत भएकाहरू मात्रै यहाँ बस्ने गरेका छन्, मर्दा, पर्दा आवश्यक पर्ने युवाहरू सबै बाहिरिएका छन् ।”

विकास निर्माणले पछाडि पर्दा यहाँका नागरिकको स्तर पनि वृद्धि हुनसकेको छैन । गाउँको विकासमा खटिनुपर्ने युवा अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बगाउनुपर्ने बाध्यता रहेको छ । यदि कोही बिरामी पर्यो भने पनि समयमै स्वास्थ्य संस्था पुर्याउन समस्या हुने गरेको उहाँको भनाइ छ । फूलबारीमा खानेपानीको पनि त्यत्तिकै समस्या छ । अहिले केहीले कुवाको पानी प्रयोग गर्छन् भने केहीले खोला खोस्रेर पानीको जोहो गर्ने गरेको केसीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here