आम औषधी सेवन कार्यक्रमलाई सफल बनाउन सामूहिक प्रतिबद्धता

0
10

अर्जुनधारा ।

यहि वैशाख १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रमलाई सफल बनाउन बिहीबार सम्पन्न एक कार्यक्रमका सहभागीहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

आम औषधी सेवन कार्यक्रमलाई लक्षित गरि स्वास्थ्य कार्यालय झापाको आयोजना र अर्जुनधारा नगरपालिका अन्र्तगत स्वास्थ्य शाखाको संयोजनमा नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्वास्थ्य शाखाका प्रमुख सन्तोष चिमरीयाका अनुसार कार्यक्रमका सहभागी नगरपालिकाभित्र रहेका निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, डाइग्नोष्टिक सेन्टर र सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरुमध्ये डा.मौसम यादवले अभियानलाई सफल बनाउन सहभागीहरुकोतर्फबाट सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

आम औषधि सेवन कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउँदै प्रचार प्रसारलाई तीव्रता दिने, कार्यक्रमप्रति सबैको अपनत्व सिर्जना गर्ने तथा कार्यक्रमको सफलताको लागि प्रतिबद्धता बढाउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक एवम् कार्यक्रमका सहजकर्ता विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

सहजकर्ता श्रेष्ठसँगै प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीका डा.सञ्जिपकुमार यादवले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई हात्तीपाईले रोगको परिचय, हातीपाईले आम औषधी सेवन कार्यक्रममा औषधी किन खाने, विश्वमा हात्तीपाईले रोगको अवस्था, आम औषधी सेवनको रुपरेखा, झापामा हात्तीपाईलेको अवस्थालगायतका विषयमा जानकारी गराइएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । ३२ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरीयाले गरेका थिए ।

नेपाल सरकारले पहिलोपटक सन् २००३मा पर्सा जिल्लाबाट शुरु गरेको आम औषधी सेवन कार्यक्रम यस वर्ष झापासहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा सञ्चालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here