पुस्तकालय तालिम सम्पन्न

0
10

सुरुङ्गा।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) झापाको आयोजनामा पुस्तकालय व्यवस्थापन तथा सीप विकास तालिम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा सम्पन्न तालिमको प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस, झापाका क्याम्पस प्रमुख जीवन पोखरेलले उद्घाटन गरेका थिए ।

झापा जिल्लाका विभिन्न विद्यालय, क्याम्पस तथा कलेजका पुस्तकालयमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको तालिममा पुस्तकालय व्यवस्थापनका लागि आधारभुत विषयवस्तुसम्बन्धि सैद्धान्तिक र व्यवाहारिक पक्षका बारेमा जानकारी गराइएको थियोे । तालिममा पुस्तक दर्ता प्रक्रिया, पुस्तकालयको व्यवस्थापकीय कार्यहरु, प्रविधिमैत्री पुस्तकालयको अवधारणा लगायतका विविध समसामयिक विषयवस्तु समेटिएको थियो ।

उद्घाटन कार्यक्रममलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख पोखरेलले झापाका विद्यालय तथा कलेजमा पुस्तकालय व्यवस्थापनका लागि आफ्नो कलेजले पनि प्राविधिक सहयोग गर्दै आइरहेको जानकारी दिए ।

तालिमका संयोजक धर्मेन्द्र भट्टराईले झापा जिल्लाका शैक्षिक संस्थाहरुमा पुस्तकालय व्यवस्थापनमा देखिएका समस्याहरुलाई केही हदसम्म भएपनि निरुपण गर्ने गरी तालिम आयोजना गरिएको बताए । सो उदघाटन कार्यक्रममा विर्तामोड नगरपालिका झापाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारी, महेन्द्ररत्न मावि अनारमनीका प्रअ खड्ग खरेल लगायतले तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

तीन दिनसम्म सञ्चालित तालिमको समापन विर्तामोड नगरपालिका नगर प्रमुख पवित्र महतारा प्रसाईले गरेकी थिइन् । समापन समारोहको प्रमुख अतिथिका रुपमा रहेकी नगरप्रमुख महताराले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सिकेका कुराहरुलाई आफ्नो निकायमा गई कार्यान्वयन गरी व्यवस्थित पुस्तकालय सेवा विस्तारमा योगदान गर्न आग्रह गरिन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले तालिम छोटो समयको भएता पनि आधारभूत विषयवस्तु समेटने प्रयास गरिएको बताए ।

नेल्टा झापा शाखाका अध्यक्ष प्रकाश पराजुलीले पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संस्था तथा व्यक्तिहरु प्रति आभार व्यक्त गर्दै नेल्टा झापाले आगामी दिनमा पनि यस्तै फरक र आवश्यकतामा आधारित विषयबस्तुलाई समेटेर तालिम सञ्चालन गर्ने बताए ।

३ दिनसम्म सञ्चालन भएको सो तालिममा त्रि.वि. केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी र पुस्तकालय अधिकृत विजय शर्मा स्रोत व्यक्तिका रुपमा सहजीकरण गरेका थिए । उक्त तालिममा झापा जिल्लाका विभिन्न शैक्षिक संस्थाबाट २५ जनाको सहभागिता रहेको थियो ।

इन्द्रचन्द्र बहुमुखी क्याम्पस विर्तामोडका पुस्तकालय संयोजक स्वस्तिका आचार्य, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँ, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक प्राध्यापक विष्णुकुमार रिजाल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियोे ।

केन्द्रीय पुस्तकालयका प्रमुख सुवेदी र पुस्तकालय अधिकृत शर्मा सोही अवसरमा झापा जिल्लामा रहेका विभिन्न क्याम्पसका पुस्तकालयहरुको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । त्रिदेव बहुमुखी क्याम्पस चारआली, मेची बहुमुखी क्याम्पस भद्रपुर र दमक बहुमुखी क्याम्पसका पुस्तकालयको अवलोकन, निरीक्षण तथा ई–रिसोर्सेसको प्रयोग, डिजिटल लाइबेरी निर्माण तथा प्लेजरिजम परीक्षणका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल तथा अन्तरक्रिया गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here