झापा प्रहरीद्वारा गोली प्रहार गरी लागूऔषध कारोबारीमा संलग्न पक्राउ

0
11

झापा ।

झापा प्रहरीमाथि आक्रमण गरेका एक लागु औषध कारोबारीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ ।

सीमावर्ती झापा गाउँपालिका–३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ ६ बजेको समयमा गोली हानेर लागु औषध कारोबारी झापा गाउँपालिका ४ खैरबारीका २५ वर्षीय सरिफुल आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले आलमको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा २ राउन्ड गोली हानेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । गोली लागेर घाइते भएका उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउन सुगर, एक थान दाउ र एक थान खुकुरी समेत बरामद गरेको एसपी केसीले बताए ।

विश्वकर्माको घर ब्राउन सुगरको कारोबारी भइरहेको भन्ने सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोली सादा पोसाकमा त्यहाँ पुगेका थिए । उनीहरूको सुरक्षाको लागि जिल्लाको टोली पनि तुरुन्त घटनास्थल पुगे ।

घरभित्रै प्रवेश गरेका प्रहरी टोलीले आलमलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्न खोज्दा उनले प्रहरीमाथि एक्कासि खुकुरी प्रहार गरे । लगतै प्रहरीले चार राउन्ड हवाई फायर गरे । ‘हवाई फायर गर्दा समेत उनले आक्रमण गर्न नछाडेपछि प्रहरीले आत्मरक्षाका लागि खुट्टामा दुई राउन्ड गोली चलाएको हो,’ एसपी केसीले भने ।

प्रहरीले गोली चलाएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । आलमकै पक्षमा आएका स्थानीयले प्रहरीलाई घरभित्रै घेराउ गर्न खोजेका थिए । पछि स्थानीयले घटनाको बारेमा बुझेपछि उनलाई अस्पतालतर्फ लैजान दिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here