संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

0
12

काठमाडौँ,

सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्र्दै उहाँले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

“राजनीतिक आन्दोलन सकिएसँगै नेपाली प्रेसले सुशासन, विकास र समृद्धितर्फका गतिविधिलाई प्रोत्साहित र प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रेसलाई बलियो बनाउने, सबल र सक्षम बनाउने दायित्वबाट सरकार समेत पछि हट्नु हुँदैन ।”

नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उहाँको भनाइ छ । लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उहाँले बताउनुभयो ।

“नागरिकलाई अज्ञानता र गलत सूचनाबाट रोक्ने, सुसूचित गर्ने र तथ्यपरक सूचना प्रवाह गर्ने दायित्व सञ्चारजगतको नै हो”, सन्देशमा भनिएको छ, “सरकार तथा जनप्रतिनिधिलाई समेत खबरदारी गर्दै जनसरोकारका मुद्दामा उत्तरदायित्वप्रति सचेत गराउने काम पनि सञ्चार क्षेत्रको प्रमुख रहन्छ, सरकार र नागरिक समाजका सबै पक्षबीच मध्यस्तथता गर्ने माध्यमको रुपमा प्रेसको भूमिका रहन्छ ।”

नेपाली प्रेस लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण सहयात्री भएको र लोकतन्त्र र सञ्चार जगत् एक अर्काका पूरक र सहयोगी रहेको सन्देशमा भनिएको छ । लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव भएको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here