बिर्तामोड।

बिर्तामोड नगरपालिका-१० स्थित सैनिकबजारमा ७ दिवसीय नौमती बाजा तालिम शुरु भएको छ।
सैनिकबजार महिला नौमती बाजा संस्थाको आयोजना तथा बिर्तामोड -१० वडा कार्यालयको सहयोगमा आयोजित महिला नौमती बाजा तालिमको उदघाटन वडाध्यक्ष दुर्योधन गुरुङले गरेका थिए।
सैनिकबजार महिला नौमती बाजा संस्थाका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा वडाध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष देवकुमारी लिम्बूले स्वागत गरेकी थिइन् ।
संस्थाकी अध्यक्ष पाण्डेले लोप हुँदै गएको परम्परागत लोकबाजा नौमती बाजाको सरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिइन्। प्रमुख अतिथि वडाध्यक्ष गुरुङले नौमती बाजा वाद्यवादन कला क्षमता अभिवृद्धिका लागि तालिमको निरन्तरता दिइएको बताउँदै तालिमको अधिकतम् सदूपयोग गरेर उत्कृष्टरुपमा सीप,प्रतिभा प्रदर्शन गर्न सहभागीलाई आग्रह गरे।
गत वर्ष गठित स्थानीय महिला नौमती बाजा संस्था हालै दर्ता भएको हो। स्थानीय १५ जना महिलाको सहभागिता रहेको तालिममा विनोद दर्जीले प्रशिक्षण प्रदान गरिरहेका छन्।
संस्थाका सल्लाहकार समिति संयोजक मनु मुखिया लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सदस्य मेनुका शिवाकोटी, सञ्चारकर्मी रत्नबहादुर बस्नेतलगायतको आतिथ्य रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव संगीता भण्डारीले गरेकी थिइन् ।































