गौरीगञ्ज अस्पताल बन्द

0
7

झापा ।

गौरीगञ्ज अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालमा तोडफोड भएपछि अनिश्चित समयका लागि बन्द गरिएको हो ।

झाडा पखाला लागेर अस्पताल भर्ना गरिएका बालकको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा विवाद सृजना भएको थियो । बालकको मृत्यु पछि अस्पतालमा भएको तोडफोडबाट असामान्य अबस्था सिर्जना भएकाले अस्पताल बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालमा प्रयोगमा रहेको सर्वर तथा अन्य विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्न गई अस्पतालका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने अवस्था पैदा भएकाले अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु हाललाई बन्द गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण महतोले सूचना जारी गरी जनाएका छन् । तोडफोडबाट अस्पतालमा लाखौंको क्षति भएको जनाइएको छ ।

झाडापखाला लागेका एक बालकको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले विहीवार गौरीगञ्ज अस्पताल तोडफोड गरेका थिए । गौरीगञ्ज– ६ खजुरगाछीका रामदेव महतोका ११ वर्षीय छोरा महेशकुमार महतोको झाडा पखालाका कारण मृत्यु भएको थियो ।

महतोलाई झाडापखाला लागेपछि बिहीबार बिहान ८ बजे गौरीगञ्ज अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसक्ने भन्दै चिकित्सकले रेफर गरेर दमक ल्याउँदै गर्दा बाटोमै बालकको मृत्यु भएको मृतकका आफन्त राजकुमार महतोले बताए । बिरामीको मृत्यु भएपछि आफन्तले शवलाई अस्पतालमै लगेर राखेका थिए । समयमा रेफर नगरेको र राम्रो उपचार नगरेको भन्दै आक्रोशित आफन्त तथा स्थानीयले गौरीगञ्ज अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका परिवार, आफन्त र स्थानीयहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका साथै ढुंगामुडा गरेका थिए ।

त्यस क्रममा अस्पतालको झ्याल, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्वर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो । दिनभरिको तनावपछि बिहीवार साँझ गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित पक्षबीच सहमति भएको थियो । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको रोहवरमा गौरीगञ्ज अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।

डाक्टर र कर्मचारीको लापरवाहीका कारण बालकको मृत्यु भएको ठहर गर्दै अस्पतालका डा. अरविनकुमार राजवंशी, स्टाफ नर्स मनिसा सिंह गनगाई र एचए भावना कार्कीलाई तत्काल पदबाट निलम्बनसहित कानूनी कार्वाही गर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here