पथरीशनिश्चरेको महेन्द्रचोकका स्थानीय आन्दोलित सडक पुनः बन्द

0
5

छविराज ढकाल/पथरी शनिश्चरे,

निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले मोरङको पथरीशनिश्चरे हुँदै दक्षिण जाने मनमोहन गान्धी सडक पुनः बन्द गरेका छन् ।

ठेकेदारले सहमति अनुसार काम नगरेको भन्दै आज शनिबार पथरीशनिश्चरे-९ स्थित महेन्द्र चोकमा उपभोक्ताहरुले सडकमा होम्प पाइप, ढुङ्गाहरु र बाँसले बारेर सडक अवरोध गरेका हुन् ।

पुन: काम नथालेसम्म सडक नखोल्ने सडक संघर्ष समितिको सहसंयोजक सुमन वनेमले बताएका छन्। मोरङ पथरीशनिश्चरे १० स्थित मनमोहन गान्धी सडक शिविरडाँडाबाट दक्षिण रंगेली जाने सो सडकमा सम्झौता गरे अनुसार निर्माणमा ढिलासुस्ति गरेको स्थानीयको आरोप छ। हिउँदमा धुलो र बर्षातमा हिलाम्मे हुँदै आएकोले सास्ती खेप्नु परेको भन्दै सो सडकका उपभोक्ताहरुले बेलाबेला सडक बन्द गराएर आन्दोलनमा उत्रिदै आएका छन् ।

शनिश्चरे बजार , महेन्द्र चोक र रिगुवा चोक गरी तीन स्थानमा उनीहरूले आवतजावत ठप्प पारेका छन्। कान्छा राम कन्ट्रक्सनले सडक चाँडाे बनाउन र हिलो, धुलोबाट मुक्त गर्न माग गर्दै गत मंसीर १२ गते पनि सोही स्थानमा उपभोक्ताहरुले करिव हप्तादिन सडक बन्द गराएका थिए ।

सडक चाँडो निर्माण गर्न पटक पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि पीडितहरुले वीरेन्द्र गुरुङको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेरै आन्दोलन गरेका थिए । मंसिरमा कान्छाराम कन्ट्रक्सन कम्पनीका मेनेजर दीपक थिङ, पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्वापाे आन्दोलनकर्मीहरुको तर्फबाट संयोजक बीरेन्द्र गुरुङ, सहसंयोजक सुमन वनेम, वडा अध्यक्षहरु बसेर सहमति भएको थियो ।

त्यसबेला कम्पनीले सडकमा दैनिक पानी लगाएर धुलो उड्न नदिने, बैसाखसम्म कालोपत्रे गरिसक्ने, बैसाखसम्म कालोपत्रे नभए ९, ८ र ४ नं. वडा अध्यक्षहरु क्रमश: वीरबहादुर राई, नवीन कार्की र लोककिरण न्यौपानेसहित सडक आन्दोलनमा आउने सहमति भएको संघर्ष समितिका सहसंयोजक सुमन वनेमले बताए ।

सहमति अनुसार केही महिना काम गरेपनि फेरि छाडेर हिँडेको, काम ढिला गरेकोले पुन: सडक बन्द गर्नुपरेको वनेमले सुनाए । सडक निर्माणमा अति ढिला भएपछि बन्द गर्न उपभोक्ताहरु बाध्य भएको स्थानीय भुवन धिमालको भनाइ छ ।

पथरीशनिश्चरे नगरको भुटानी शरणार्थी शिविर मुख्य सडक दक्षिण रंगेलीसम्म २५ किलो मिटर लम्बाई र ६० फिट चौडाइको निर्माण हुने सडकको ठेक्का पूर्ण तामाङको कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पारेको थियो । कान्छारामले १ करोड ९४ लाख ९४ हजारमा टेण्डर पारेको स्थानीय प्रेम वनेम लिम्बूको भनाइ छ ।

कालोपत्रे (पुरानो) उप्काएर ग्राबेल लगाएर हिँडेपछि निर्माण कम्पनी करिव दुई बर्षदेखि बेपत्ता थियो । मंसिरको आन्दोलनमा भएको सहमतिपछि आएर काम थालेपनि पुन: काम छाडेर हिँडेकोले सडक बन्द गर्नुपरेको स्थानीय उपभोक्ताहरु सुनाउँछन्। संघर्ष समितिले २०८० मंसीर १३ गने महेन्द्र चोक स्थित सडकमै पत्रकार सम्मेलन गरेर पीडितहरुले गुनासो सुनाएका हुन् ।

हिउँदमा धुलोको कारण शुद्ध खाना खान र लुगा धोएर सुकाउन नपाएको पीडितहरुको भनाइ थियो । अत्याधिक थुलोको कारण वृद्ववृद्वा र बालबालिकाको स्वास्थ्यमा समस्या भइरहेको संघर्ष समितिको सदस्य ईश्वर चौहानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here