झापाका ३४२५ जनालाई ‘सासु’ भत्ता

0
57

झापा ।

झापा गाउँपालिकामा बार्षिक ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले दिएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ ।

नेपाल सरकारले प्रदान गर्ने ८ वटा क्लस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । झापाका ७ वटा वडाबाट पहिचान गरी पठाइएका ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, अति अशक्त र अपाङ्गता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३÷३ महिनामा बैकमार्फत उनीहरुकै खातामा जम्मा गरिदिने गरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको विवरण अनुसार ९१२ पुरुष र ९६२ महिला गरी १८७४ जना ज्येष्ठ नागरिकले मासिक ४ हजारका दरले ज्येष्ठ नागरिक भत्ता पाउने गरेका छन् । त्यस्तै ६०देखि ६८ उमेर समूहका ज्येष्ठ दलित ५८ पुरुष र ४५ महिला गरी १०३ जनाले मासिक २३६० ज्येष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको उपलब्ध विवरणमा जनाइएको छ ।

त्यसैगरी ३२० जना एकल महिला र ५५४ जना विधवा महिलालाई मासिक २६६०का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने १३६ जना पूर्ण अपाङ्गता भएका ७३ पुरुष र ६३ जना महिलाले समेत मासिक ३९९०का दरले अपाङ्गता भत्ता प्राप्त गरिरहेका छन् । त्यस्तै अति अशक्त अपाङ्गता भएका १२४ पुरुष र ८८ जना महिला गरी २१२ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको उल्लेख छ ।

त्यसैगरी दलित बालबालिका ७७ पुरुष र ६५ महिला गरी १४२ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छन् भने लोपोन्मुख जातिका ३८ पुरुष र ४६ महिला गरी ८४ जनाले मासिक ३९९० रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै एकल ६०देखि ६७ बर्षका पुरुष र ८४ बर्ष माथिका ज्येष्ठ नागरिकलाई समेत वार्षिक ६ हजार रुपैयाँका दरले प्रोत्साहन स्वरुप भत्ता दिँदै आएको छ । झापा गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्तामार्फत ४ करोड ७० लाखभन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here