झापामा ‘दुर्व्यसनविरुद्ध आमा’ कार्यक्रम प्रभावकारी

0
7

झापा,

मेचीनगर नगरपालिका–१४ की सदीक्षा थापा (नाम परिवर्तन) १५ वर्षको कलिलो उमेरमै लागुऔषध दुर्व्यसनकी अम्बली बनिन् । कक्षा नौ पढ्दै गरेकी उनी लागुऔषधकै कारण पढाई छाडेर सडकमा पुगिन् ।

कोठाबाट बाहिर ननिस्कने, कसैसँग बोल्न नरुचाउने र खानामा रुचि नदेखाउने उनलाई घरपरिवारले सुरुमा बेवास्ता गर्दा लागुऔषधको दलदलमा फस्न पुगेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । हाल उनलाई आफन्त र स्थानीयवासीको सहयोगमा विर्तामोडस्थित सुधार केन्द्रमा राखिएको छ ।

उनीजस्तै सयौँ बालबालिकालाई लागुऔषध दुव्यर्सनबाट बचाउन जिल्लामा प्रहरीले ‘दुव्यर्सनविरुद्ध आमा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकासँग आमाले समय बढी बिताउने र उनीहरुको बानी व्यवहारमा जानकारी राख्ने हुँदा आमालाई नै लक्षित गरेर कोसी प्रदेशका १४ जिल्लामा ‘दुव्र्यसनविरुद्ध आमा’ कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशोदा घलेले जानकारी दिनुभयो ।

सो कार्यक्रम झापामा प्रभावकारी बन्दै गएको भन्दै जिल्लाका १५ पालिकामध्ये १३ पालिकामा लागुऔषध नियन्त्रणका लागि पालिकास्तरीय समितिसमते गठन गरिएको उहाँले बताउनुभयो । प्रहरीले पालिकामा रहेकोे समितिसँग मिलेर जिल्लाका विभिन्न स्थानमा आमाहरुसँग अन्तक्र्रिया र सचेतनामूलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

“बालबालिकाहरु धेरै समय आमासँगै बिताउँछन् । आमाले छोराछोरीमा आएको परिवर्तन सहजै महसुस गर्ने हुँदा उहाँहरुलाई नै लक्षित गरेर कार्यक्रम गरिरहेका छौँ । प्रभावकारी भइरहेको महसुस भइरहेको छ”, प्रहरी निरीक्षक घलेले भन्नुभयो ।

प्रहरी निरीक्षक घलेले सन्तानका गलत क्रियाकलापलाई प्रोत्साहन नगर्न, उनीहरुमा आएको परिवर्तनप्रति निगरानी बढाउन र छोराछोरीको साथीसङ्गतबारे जानकारी राख्ने काम आमाबाट भए मात्र लागुऔषध दुव्र्यसनबाट बचाउन सकिने बताउनुभयो । उहाँले सन्तानको स्वास्थ्य र भविष्यको निमित्त आमा नै बढी चिन्तित हुनेहुँदा उनीहरुको दैनिकीप्रति सचेत रहन आग्रह गर्नुभयो ।

प्रहरी निरीक्षक घलेले पछिल्लो समय बाबुआमाहरुको वैदेशिक रोजगारप्रतिको बढ्दो चाहना, गरिबी, अशिक्षा र अभिभावकमा चेतना कमीलगायत कारणले पनि लागुऔषध प्रयोगकर्ता जिल्लामा बढिरहेको बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा अध्ययन र अनुसन्धान गर्दा शिक्षित भनिएका बालबाललिका नै लागुऔषधको कुलतमा फसेको पाइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक घलेका अनुसार जिल्लामा कक्षा १० देखि १२ कक्षामा अध्ययन गर्ने ४१ दशमलव ९० प्रतिशत शिक्षित भनिएका बालबालिका लागुऔषधको दुर्व्यसनमा फसेको छन् । यसैगरी कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३४ दशमलव २० प्रतिशत, कक्षा १ देखि पाँचसम्म अध्ययनरत १५ दशमलव ९० प्रतिशत, स्नातकभन्दा माथि छ दशमलव ३० प्रतिशत र अशिक्षित एक दशमलव ७० प्रतिशत लागुऔषध दुर्व्यसनमा फसेका उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक घलेले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लामा दुई सय ९६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिनुभयो । उहाँले स्कुल कलेजका विद्यार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका बासिन्दा, लागुऔषध सेवनकर्ता, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका बस्तीका बासिन्दाका साथै विभिन्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी निरन्तररुपमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here