समुदायका सबै बालबालिका विद्यालयको हाताभित्र: कक्षा ९ मा अध्ययनरत् सबै विद्यार्थीलाई निःशुल्क साइकल

0
7

सुरेन्द्र भण्डारी,
झापा ।

समुदायका सबै बालबालिकालाई विद्यालयको हाताभित्र ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्न झापा गाउँपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रममध्ये बिद्यार्थीलाई साइकल बितरण एक हो ।

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई साइकल प्रदान गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्थापन गर्दै विद्यार्थीलाई साइकल बितरण गर्न शुरु गरेसँगै समुदायका सबै बालबालिका बिद्यालयको हाताभित्र आएका हुन् ।

अघिल्ला वर्ष छात्रालाई मात्रै साइकल प्रदान गर्दै आएको गाउँपालिकाले यस वर्षबाट छात्रलाई समेत साइकल प्रदान गर्न शुरु गरेको हो । जस अन्तर्गत कक्षा ९मा अध्ययनरत् सबै विद्यार्थी (३ सय ४३ जना) लाई गाउँपालिकाले आइतवार साइकल बितरण गरेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत् विपन्न समुदायका बिद्यार्थीले बीचैमा पढाइ छाड्ने समस्या देखिएसँगै गाउँपालिका अध्यक्ष जयनारायण साहले २०७५ सालमा विद्यार्थीले किनबीचैमा पढाइ छाड्छन् भन्दै सूक्ष्म अध्ययन गरेका थिए । सो क्रममा विद्यालय आवतजावतमा बिद्यार्थीलाई समस्या देखिएपछि उनले सोही वर्षवाट बिद्यार्थीलाई साइकल बितरण शुरु गरेका थिए ।

शुरुका वर्ष अति विपन्न परिवारका बिद्यार्थीको पहिचान गर्दै साइकल वितरण गर्न शुरु गरेको गाउँपालिकाले त्यस यता छात्रालाई मात्रै साइकल वितरण गर्न शुरु ग¥यो । तर, बिद्यालय आउन छात्रालाई मात्रै समस्या होइन, छात्रलाई पनि समस्या देखिएपछि गाउँपालिकाले सबै विद्यार्थीलाई साइकल वितरण शुरु गरेको हो ।

आइतवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सबै बिद्यार्थीलाई साइकल बितरण गरेकी हुन् । साइकल वितरण गर्दै कार्यवाहक अध्यक्ष थपलियाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले थुप्रै कार्यक्रम सञ्चालन गरेको र त्यस अन्तरगत साइकल बितरण एक रहेको बताइन् । उनले झापा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा ९मा अध्ययनरत् बिद्यार्थीलाई साइकल बितरण गर्न गाउँपालिकाले ४१ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको र सोही रकमबाट विद्यार्थीलाई साइकल वितरण गरिएको बताइन् ।

त्यसो त गाउँपालिकाले शिक्षातर्फ शिक्षा विकासका लागि २० लाख, विद्यालयको भौतिक सुधारका लागि ७० लाख, विभिन्न प्रकारका छात्रवृत्ति कार्यक्रमका लागि १० लाख, स्थानीय पाठ्यक्रम निर्माणका लागि १० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाले झापा नमूना क्याम्पस सञ्चालनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको र बाल शिक्षक तथा विद्यालय कर्मचारीलाई नेपाल सरकारबाट प्राप्त हुने पारिश्रमिक रकममा थप गर्न ७२ लाख रुपैयाँ बिनियोजन गरेको थियो । त्यस्तै मदरसामा अध्यापन गराउने शिक्षकलाई पारिश्रमिकका लागि ४५ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष थपलियाको भनाइ छ ।

साइकल वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत गजेन्द्र थपलियासहित वडा नं. ७का वडा अध्यक्ष सखिचन्द्र ठाकुर, स्थानीय टीका प्रसाद जमरकट्टेल, सुन्दरलाल गणेश लगतयले शुभकामना मन्तव्य राखेका थिए । झापा गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन ढकालले शुभकामना मन्तव्य राखेको कार्यक्रममा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक, स्थानीय समाजसेवी, नागरिक समाजका प्रतिनिधि, शिक्षासंग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here