रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

0
4

धरान (सुनसरी),

धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गर्नुभएको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उहाँले घरखर्च चलाइरहनुभएको छ ।

“साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भन्नुभयो, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उहाँका अनुसार अहिले पनि मासिक रु ३५ हजारसम्म मजाले बचाउन सकिन्छ ।

उहाँका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका, डाला र नाङ्गो बढी बनाइथ्यो, अहिले भने बेतबाट बनेका फर्निचर सजावटका लागि आकर्षण र प्रयोगमा आरामदायी हुने भएकाले माग बढ्दो छ”, उहाँले भन्नुभयो ।

उहाँले धरान र आसपासमा पर्याप्त बेत नपाइने भएकाले सिलगुडीसम्म जानुपरेको सुनाउनुभयो । “यहाँ पर्याप्त बेत नपाइने भएकाले भारतको सिलगुडीसम्म जानुपर्ने अवस्था छ, स्वदेशमै उत्पादन भए त्यहाँसम्म जानुपर्ने बाध्यता हुँदैनथ्यो र सामान पनि सस्तोमै उपलब्ध गराउन सकिन्थ्यो”, उहाँले सुनाउनुभयो ।

उहाँले अहिले बेतबाट कोक्रो, मुडा, ¥याक, कुर्सीलगायतका सामग्री उत्पादन गर्दै आउनुभएको छ । उहाँले बनाउनु भएका सामग्री विदेशीसमेत मन मराउने गरेको उहाँले सुनाउनुभयो । “बेतबाट बनेका सामान पनि बलियासँगै आकर्षित हुन्छन्, सजावटमा पनि अत्यधिक प्रयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले एउटा सामानको रु तीन हजारदेखि रु पाँच हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

सिलगुडीमा एक बण्डल बेत खरिद गर्दा रु तीन हजार पाँच सयसम्म पर्ने गरेको त्यसबाट तीन वटासम्म सामान बनाउन पुग्ने भएकाले घाटा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पसल आफ्नै घरमा भएकाले भाडा तिर्न पर्दैन, कुनै दिन व्यापार नभए पनि घाटा हुँदैन ।”
रामबहादुर जस्तै धरान–११ का श्याम तामाङले पनि बेतका सामग्री बिक्रीबाटै खर्च धान्दै आउनुभएको छ । पछिल्लो २५ वर्षयता फर्निचर व्यापारमा सक्रिय उहाँले सुरमा काठका फर्निचरको व्यवसाय गरे पनि २० वर्षयता भने बेतका फर्निचरको व्यापार गर्दै आउनुभएको छ । “बेतका फर्निचरको व्यवसाय राम्रो छ, मैले मासिक रु ५० देखि ६० हजार आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो ।

उहाँले अहिले २० देखि २५ वटा बेतको फर्निचर बिक्री गर्दै आउनुभएको छ । बेतबाट बनेका सोफा, डाइनिङ टेबल, प्लङ, कुर्सी, मुडा, ह्याङ्गर, धाकी, गमलालगायत विभिन्न सजावटका सामान उहाँको पसलमा पाइन्छन् ।

बेतको सामग्री निर्माण गर्ने नेपाली कालीगढ नभएकाले पाँच जनासम्म भारतीय कालीगढ राखेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेतका फर्निचरको उत्पादन बढाउनसक्ने हो भने बजारको अभाव छैन । तर पर्याप्त बेत र कालीगढको अभावका कारण बजारमा मागअनुसारको सामग्री उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । उहाँले बेतको सामान १५ देखि २० वर्षसम्म सजिलै प्रयोग गर्न सकिने बताउनुभयो ।

“नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भरहेका छन्, हातमा सीप भएमा नेपालमै व्यावसाय गरेर जीवनयापन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

बेतका फर्निचरहरु हेर्दा आकर्षक देखिनका साथै हलुका हुने भएकाले यसको प्रयोग धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार बेत विशेष गरी दुई प्रकारको प्रयोग हुने गर्छ । भारत सिलगुडीमा उत्पादन हुने बेत अलिक मोटो हुने गर्छ भने पूर्वी पहाडी भेगका जङ्गलमा पाइने बेत पातलो हुन्छन् । यस्ता बेतलाई पानी बेत भनिन्छ । बेतमा बाँस प्रजातिमा पर्छ । तर बाँसभन्दा बलियो हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here