झुठो टिक्दैन

0
4

अन्ततः सन्दीप लामिछानेले न्याय पाएका छन् । लामो छलफल, बहस र तारिकपछि बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेपछि उनले मात्र होइन देशको भलो चाहने सबैले न्याय पाएको अनुभूति गरेका छन् । नाबालिका बलात्कारको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै आठ वर्षको जेल सजायसहित पाँच लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । पीडित भनिएकी युवतीको उजुरीका आधारमा विदेशमा रहेका सन्दीप स्वयम् अदालत उपस्थित भएका थिए । त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रहरीले जघन्य अपराधी सरह पक्राउ गरी हिरासतमा राखेको थियो ।

सन्दीप लामिछाने नेपाली खेल जगतको उज्यालो तारा सरह उदाउँदै थिए । खेलकुदको पनि क्रिकेटका राष्ट्रिय खेलाडीको रुपमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागी भई विश्व रेकर्ड बनाइसकेका सन्दीपबाट देशको गौरव बढ्ने अपेक्षा पनि गरिएको थियो । हुन पनि भारतीय प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुबाट समेत उनको क्रिकेट खेलको प्रशंसा हुन थालेको थियो । आफ्नो जीवन खेलमय बनाउँदै देश र जनताका लागि समर्पण गरेका उनीप्रति सरकारको वक्रदृष्टि र दुव्र्यवहारले नेपाली समाज खासगरी युवावर्ग आक्रोशित भएको थियो । उनलाई तेजोबध गराउन शक्तिकेन्द्र र केही प्रभावशाली व्यक्तिहरु नै लागेको टिप्पणी पनि भइरहेको थियो । यस्तो अनेक चर्चा, टिप्पणी, आलोचना र बिरोधकाबीच सन्दीप दोषमुक्त भएका छन् । उनको खेलजीवन पूर्ववत् सञ्चालन हुनेछ, यो नै सर्वाधिक खुशीको कुरा हो । उनीमाथि लागेको आरोप यथार्थमा मानवीय संवेदना र नेपाली समाजको धरातलबाट हेर्दा लज्जाजनक नै हो । तर, हामीकहाँ आधुनिकताले परम्परागत मूल्य–मान्यता तोड्दै लगेको छ । खुल्ला र स्वतन्त्र समाज र जीवन भोगाइको अभ्यास बढ्दै गएको छ । यहीबीच राज्यले निर्माण गरेको कतिपय कानूनी व्यवस्थाले अपराधका नयाँ छिद्र खोल्न थालेको पनि छ । त्यस्तैमा राष्ट्रको गौरव, शान र मान भनिएका सन्दीप पनि अपराधी सावित भए, जुन आरोपलाई स्वीकार्न नेपाली युवा जमात तयार थिएन । जे होस् खेलकुदकै बाटोबाट राष्ट्र र नेपाली जातिको गौरव उँचो पार्न सक्रिय सन्दीपले न्याय पाएका छन् ।

‘सत्य डग्दैन झुठो टिक्दैन’ –यो हाम्रो पौराणिक ग्रन्थले पनि प्रमाणित गरेको भनाइ हो । देश यो भन्दा जघन्य अपराधहरुको केन्द्र जस्तै बनिएको छ । सरकारी सम्पत्तिसम्म व्यक्तिको बनाउने, अधिकारको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन, अपचलन गर्ते र आफू अनुकूलका ऐन–कानून बनाउने राजनीतिक दल र नेताहरुका माझमा सन्दीपको मुद्दा गौण थियो । तर, पनि न्याय पाउन निक्कै कुर्नु प¥यो । अब यस्तो नहोस्– निर्दोषलले सजाय नपाउन्, दोषीले उन्मुक्ति नपाउन् अनि मात्र विधिको शासनको अनुभूति हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here