बिर्तामोड र विराटनगरमा चलचित्र महोत्सव हुने

0
3

बिर्तामोड।

कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो ।

झापाको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । स्थानीय व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सव यही जेठ ६ गतेदेखि ११ गतेसम्म हुनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने अध्यक्ष केवल तामाङले जानकारी दिए ।

कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आयोजना हुने महोत्सवको समापन विराटनगरमा हुने महासचिव रमेश तिवारीले जानकारी दिए ।

चलचित्रले प्रदेशलाई पर्यटनसँग जोडेर ठूलो आम्दानीको स्रोतको रुपमा विकास गरेर आर्थिक रुपमा मजबुत बनाउन सक्ने विश्वास लिइएको छ ।

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सिप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्ने, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदानप्रदान गर्ने वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवको आयोजना आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशले गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here