नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

0
10

नेपालगञ्ज,

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ । कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको हो ।

उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार शुक्रबारदेखि सुरु भएको बन्ध्याकरण शिविरबाट हालसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । “सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । नेपालगञ्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताउनुभयो । उहाँले रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको उहाँले जोड दिनुभयो ।

पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताउनुभयो । नेपालगञ्जमा हुने विद्युत् अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उहाँको भनाइ छ ।

‘डग क्याचर’ मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिएको छ । कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । बन्ध्याकरण कार्यक्रमका लागि रु छ लाख बढी खर्च हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here