फोक्सोका बिरामीका लागि सामाजिक सञ्जालमार्फत सहयोग सङ्कलन

0
9

वालिङ (स्याङ्जा),

उपचारका लागि आर्थिक अभाव भएपछि फोक्सोका बिरामीलाई झण्डै रु पाँच लाख सहयोग हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–४ कुरुङ्चेका ४० वर्षीय भीमबहादुर थापालाई फोक्सोमा समस्या देखिँदा उपचारका लागि आर्थिक अभाव भएपछि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको हो । बिरामी थापाको उपचारका लागि ठूलो धनराशि आवश्यकपर्ने भएपछि सामाजिक सञ्जाल तथा अन्य माध्यमको प्रयोग गरी आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको स्थानीय अभियानकर्मी टीकाराम अधिकारीले बताउनुभयो ।

अधिकारी र यादव सुवेदीले सहयोगका लागि सामाजिक सञ्जालमा अपिल गर्दै थालेको अभियानबाट रु चार लाख ७४ हजार तीन सय ३८ सङ्कलन भएको थियो । “थापाको उपचारमा ठूलो धनराशि आवश्यकपर्ने देखियो, तर घरको आर्थिक अवस्था कमजोर भएकाले रकम सङ्कलन अभियान थाल्यौँ”, अधिकारीले भन्नुभयो, “उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीले मानवीय सेवा भावलाई मनन गर्दै साथ दिनुभयो, उहाँहरुप्रति आभार व्यक्त गर्दछौँ ।”

अभियानमार्फत सङ्कलन भएको रकम थापाको घरमै पुगेर परिवारलाई हस्तान्तरण गरिएको थियो । उपचाररत थापाको उपचारका लागि सहयोग आउनेक्रम जारी रहेकाले प्राप्त रकम पुनःहस्तान्तरण गर्ने स्थानीय युवा एवं अभियानकर्मी सुवेदीले बताउनुभयो ।

फोक्सोमा समस्या देखिएपछि थापालाई गल्याङ नगर अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । थापाको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि समस्या भएको थापाले बताउनुभयो । “मेरो उपचारमा आर्थिक समस्या भएपछि आफ्ना आफन्तलगायत शुभचिन्तकले सहयोग सङ्कलन अभियान सञ्चालन गर्नुभयो”, उहाँले भन्नुभयो, “सहयोग उपलब्ध गराउनुभएकामा सहयोगी सबैलाई धन्यवाद दिन्छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here