बाह्रदशीबासीलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा

0
80

झापा । बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा पु¥याउन अपनाइएको स्वास्थ्य नीति प्रभावकारी देखिएको छ ।
पालिकाको १३ औं गाउँसभामा गरिएको निर्णय अनुसार पालिकाभित्र रहेका स्वास्थ्य संस्थामा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन एमवीवीएस् डाक्टरसहितको सेवा, प्रयोगशाला, भिडियो एक्स–रे, इसीजी लगायतका सेवा सञ्चालन गरिएसँंगै स्वास्थ्यमा सबै नागरिकको पहुँच पुगेको हो ।

बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेल पालिकाले प्रदान गर्ने स्वास्थ्य सेवाका विषयमा जानकारी गराउँदै ।


गरिबीको रेखामुनि रहेका सीमान्तकृत, दलित, मुस्लिम तथा पिछडा वर्गसहित सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन गाउँपालिकाले गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स–रे सहितको सेवा प्रवाह गरेसँंगै आधारभूत स्वास्थ्य संस्थाप्रति नागरिकको विश्वास बढेको छ ।
इलाका स्वाास्थ्य चौकी राजगढ र डाँगीवारी स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरसहितको सेवा प्रवाह गर्न शुरु गरिएसँंगै स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या समेत बढेर गएको गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले बताइन् ।
पालिकाभित्र रहेका महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच गर्दै स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फिस्टुला, बाँझोपन जस्ता रोगको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै आएकोले स्वास्थ्य सेवाप्रति नागरिकको झुकाव बढेको हो ।
यस अघि सो क्षेत्रका महिला स्वास्थ्य जाँचका लागि भद्रपुरमा रहेको मेची अस्पतालसहित जिल्लामा सञ्चालित विभिन्न निजी अस्पताल धाउने गरेका थिए । तर, गाउँमै एमवीवीएस डाक्टरसहित निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ग्रामीण क्षेत्रका महिलाहरु स्वास्थ्यप्रति सजग बन्दै नियमित स्वास्थ्य जाँचका लागि अस्पताल आउने गरेको उपाध्यक्ष खरेलको भनाइ छ ।
पालिकामा रहेका स्वास्थ्य संस्थामा गर्भवती महिला र नवजात शिशुका लागि समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष खरेलले बताइन् । स्वास्थ्य संस्थामा कुनै कारणवस गर्भवती महिलाले बच्चा जन्माउन नसकेको खण्डमा वा बच्चाका लागि तत्काल एनआईसीयू आवश्यक परे अन्यत्र रेफर गर्दासमेत निःशुल्क एम्वुलेन्स उपलब्ध गराउन शुरु गरिएको उनको भनाइ छ ।
गर्भवती महिला सुत्केरी भइसकेपछि उनीहरुलाई भेट्न जाँदा प्याकेजमा सुत्केरी पोषण सामग्री प्रदान गरिँदै आएको छ । उपाध्यक्षको कोषबाट खर्च गर्ने गरी सो कार्यक्रमका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको र पालिकाभित्रका हरेक महिला सुत्केरी हुँदा पोषिलो खानेकुरा प्रदान गरिँदै आएको खरेलको भनाइ छ । पालिकाले सुत्केरी महिलाका लागि दाल गेडागुडी, मसलादार सामग्री, घ्यू आदि प्रदान गर्ने गरिएको छ । स्वास्थ्यमा पहुँच नै नभएका गर्भवती महिलाहरुले अहिले नियमित स्वास्थ्य जाँच गराउने गरेको र गर्भवती महिलाहरुले समेत वर्थिङ सेन्टरमा बच्चा जन्माउने गरेको उपाध्यक्ष खरेलको भनाइ छ ।
नवजात शिशु राख्नका लागि बेवी वार्डको समेत व्यवस्थापन गरिएको उनको भनाइ छ । त्यस्तै विपन्न नागरिकलाई लक्षित गर्दै निःशुल्क विमाको व्यवस्थापन गरिएको र जेठ १ गतेबाट सो कार्यक्रम लागू भएको बताइएको छ ।
पालिकाले चालू आर्थिक वर्षमा चार सय सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराएको छ । गाउँपालिकामा १५ वेडको अस्पतालका लागि अहिले भवन निर्माणको काम समेत भइरहेको खरेलले बताइन् ।

बाह्रदशी गाउँपालिका २ स्थित राजगढमा निर्माणाधीन १५ शैयाको अस्पताल ।


बाह्रदशी गाउँपालिका –२ स्थित राजगढमा अस्पताल निर्माणको काम भइहरेको र सो अस्पतालको निर्माण सम्पन्न भएसँंगै यस क्षेत्रका स्थानीयले थप स्वास्थ्य पाउने बताइएको छ । हाल पाँच वेडको अस्पतालबाट गाउँपालिकावासीलाई सेवा उपलब्ध गराइँदै आएको उनको भनाइ छ ।

८५ जनालाई औषधि उपचार खर्च

बाह्रदशी गाउँपालिकाले पालिकाभित्र रहेका ८५ जना दीर्घ रोगीलाई मासिक पाँच हजार रुपैयाँका दरले औषधि उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रम अन्तरगत क्यान्सर पीडित, मृगौला प्रत्यारोपण गरेका, मृगौलाको डायलासिस गरिरहेका र मेरुदण्डको पक्षघात भएका विरामीलाई औषधि उपचार खर्च बापत मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराएको हो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख राम साहका अनुसार औषधि उपचार बापतको सेवा लिने मध्ये क्यान्सर रोगी धेरै छन् । गत वर्ष ६५ जनाले औषधि उपचार खर्च बापतको रकम लिएका थिए । यो वर्ष ८५ जनाले ५१ लाख रुपैयाँ रुपैयाँ औषधि उपचार खर्च वापत रकम लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here