‘भ्यू टावर’को उद्घाटन ओलीले गर्ने

0
9

झापा ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर जेठ १० गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए ।

दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको भ्यू टावर १८ तलाको रहेको छ भने १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रक्रिया थालिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए । भ्यू टावर निर्माण सम्पन्न भएसँंगै सरसफाईको काम भइरहेको बताइएको छ ।

व्यापरिक केन्द्र सहितको यो भ्यू टावरले पूर्वी नेपालको व्यपारिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । संघीय सरकारको बजेटमा निर्माण सम्पन्न भएको टावर नेपालकै नमूना र फरक डिजाइनमा तयार गरिएको छ । नयाँ प्रविधिमा निर्माण गरिएको यो १८ तले भ्यू टावर दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको हो ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यू टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको बताइएको छ । चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ ।
स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैँ थाहा पाउने र आफैँ पानी हालेर निभाउने प्रविधि हो । भवनका सबै तलामा पिउने पानी पु¥याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिन्छ ।

विस्तृत परियोजना प्रस्ताव (डीपीआर) अनुसार यस भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल, चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज रहनेछन भने सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहनेछ ।

यो भ्यू टावरको ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए तर कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि यसको निर्माण कार्य अवधि थप गरीएको थियो ।

झापाको दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण सम्पन्न यो टावर समग्र पूर्वी नेपालकै पर्यटन विकासमा महत्वपूर्ण हुने विश्वास लिइएको छ । भ्यू टावर लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावर हो । यो काठमाडौँको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here