रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

झापाको बिर्तामोड -१०स्थित जहरमान टोलमा सुनुवार समुदायले किरातहरुको महान पर्व उभौली (स्याँदर पिदार) हर्षोल्लासपूर्वक मनाएका छन्। सुनुवार सेवा समाज वडा समितिको आयोजनामा जहरमान टोलमा रहेको चण्डीथानमा उभौली पूजासहित स्याँदर पिदार सम्पन्न भएको हो।
सुनुवार सेवा समाज बिर्तामोड -१० वडा समिति अध्यक्ष मनु सुनुवार मुखियाको अध्यक्षता तथा सुनुवार सेवा समाज झापाका अध्यक्ष अविरबहादुर मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रभात मुखियाले स्वागत गरेका थिए।
वि.स. २०६१ सालमा स्थापना भएको उक्त चण्डीथानमा आफ्नो धर्म संस्कारको जगेर्ना गर्ने उद्देश्यले निरन्तर उधौली उभौली मनाउने गरिएको संस्थाकी अध्यक्ष मनु मुखियाले बताइन् । प्रमुख अतिथि अबिरबहादुर मुखियाले कसैलाई रोग,शोक नपरोस्, बालीनाली सप्रियोस भनेर पुर्खा, प्रकृति र चण्डी भगवतीको पूजा गर्ने गरिएको बताए।
कार्यक्रममा प्रमुख अतिथि मुखिया, स्थानीय जनप्रतिनिधि पृथ्वी बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका उपाध्यक्ष प्रभात मुखियाले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश उपाध्यक्ष विष्णुकला मुखिया, बिर्तामोड नगर समिति अध्यक्ष दिलकुमार मुखिया, नगर सदस्य चम्पादेवी सुनुवार, नगर समिति सल्लाहकार टेकबहादुर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्ग बिर्तामोडका सल्लाहकार रिमानध्वज लोक्ताम, चण्डीथान निर्माण समितिका अध्यक्ष नारायण सुनुवार, पुजारी गोबर्धन सुनुवार, भूमिनासो गणेश मुखिया, तेजबहादुर मुखिया, महेश मुखिया लगायतको आतिथ्य रहेको थियो।
जातीय भेषभूषामा चण्डीनाच प्रदर्शन गरिएको कार्यक्रममा संस्थालाई साउण्ड सिष्टम प्रदान गरेर सहयोग गर्ने भूपाल मुखिया र मीना मुखियालाई सम्मान गरिएको थियो।































