दोमुखालाई धार्मिक पर्यटन हब बनाइने

0
7

सेलिङ केसी,
झिलझिले।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर दोमुखालाई आन्तरिक पर्यटनको हब बनाइने सरोकारवालाहरुले बताएका छन् । सताक्षी प्रेस क्लबको आयोजना तथा दोमुखा धार्मिक तथा पर्यटकीय व्यवस्थापन विकास समितिको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रम सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रेस क्लवको तर्फबाट १४ जना सञ्चारकर्मी र दोमुखा पर्यटन बोर्डका पदाधिकारी, सदस्य तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दोमुखाको विकास, आन्तरिक तथा वाह्य पर्यटनको व्यवस्थापन, भावी योजना र रणनीति, पर्यापर्यटन, प्राकृतिक सम्पदाको उपभोग, दुरुपयोग जस्ता विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

कार्यक्रममा दोमुखामा निर्माण भएको भौतिक संरचना, प्राकृतिक स्थलको संरक्षणको विषयमा पर्यटन बोर्डका अध्यक्ष धनप्रसाद लिम्बूले पत्रकारहरुलाई बुँदागत रुपमा स्पष्ट पारेका थिए । उनले दोमुखालाई पूर्वकै धार्मिक पर्यटन हबको रुपमा विकास गर्न चालेका कदम र प्रयासहरुको बारेमा बोल्दै दोमुखा पुरानो अवस्थाबाट माथि उठेको बताए । अध्यक्ष लिम्बूले ‘हाम्रो दोमुखा – राम्रो दोमुखा’ बनाउनको लागि सबैको रचनात्मक सहयोग आवश्यक भएको भन्दै तत्काल दोमुखालाई इन्टरलक ब्लकमय बनाउने र निकट भविष्यमै आफ्नो वेबसाइट सञ्चालन गर्ने जानकारी दिए ।

कार्यक्रममा दोमुखा पर्यटन बोर्डले सम्पन्न गरेको कामको प्रगति विवरण समेत सार्वजनिक गरिएको थियो । अध्यक्ष लिम्बूले नदीनालाहरु मानव जातिको सभ्यता भएको उल्लेख गर्दै आधा शताब्दी अघि मानव बस्ती बस्ने अवस्थामा नदी किनार हुँदै दोमुखामा बसोबास गरेको र नेपालकै धार्मिक महत्वको नदी कन्काई नदीले कन्काई माईको रुपमा स्थापित भई धार्मिक मान्यता दोमुखा धार्मिक पर्यटनको रुपमा रहनुपर्ने बताएका थिए ।

के छालासँग मानव शरीर अलग हुन सक्छ ? प्रश्न गर्दै उनले धार्मिक पर्यटनलाई अलग राख्नु हुन्न भन्ने आशयमा स्पष्ट पारे– अब उप्रान्त कसैले पनि धार्मिक हटाएर दोमुखालाई पर्यटन मात्र भन्नुपर्छ भन्ने पूर्वाग्रह राख्नु हुँदैन । अध्यक्ष लिम्बूले दोमुखा धार्मिक पर्यटन बोर्डको पहल र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार र आन्तरिक आयस्रोतले अहिलेको विकास सम्भव भएको उल्लेख गरे ।

दोमुखामा वनभोज स्थल, चिल्ड्रेन पार्क, स्वीमिङ पुल, दोमुखा पार्क, राष्ट्रिय विभूति फाल्गुनन्दको पूर्णकदको प्रतिमा, विभिन्न जातजातिका चित्रकला, हात्ती, जेब्रा लगायतका डमी, मठमन्दिर, मौलिक घर, विभिन्न भेषभुषाको स्टल, शौचालय, खानेपानी, बिद्युत, रात्रीकालीन सेवा, होटल व्यवसाय, आई लभ दोमुखा, शिरीषको फूल, झोलुङ्गे पुल, स्काई ब्रिज लगायतका पर्यटक भित्र्याउने पूर्वाधारहरुको विकास भइसकेकोले दोमुखामा पर्यटक भित्र्याउन अध्यक्ष लिम्बूले सबैलाई पहल गर्न अनुरोध गरे । उनले दोमुखा क्षेत्रमा पर्यटन आवागमनको प्रचुर सम्भावना भएको भन्दै पर्यटकहरु यो क्षेत्रमा भरिभराउ बनाउन सके आन्तरिक आयस्रोत बढ्ने, व्यवसाय फस्टाउने र सरकारको आयस्रोत बढ्ने बताउँदै चौबीसै घण्टा खुल्ला भएकोले दोमुखामा आउन आग्रह गरेका छन् ।

कार्यक्रममा पर्यटन बोर्डका न्यायिक समिति संयोजक लीलाप्रसाद भट्टराईले स्थानीयले दोमुखाको सौन्दर्य र आफ्नोपनलाई सबैसामु चिनाउन नसकेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट दोमुखालाई पर्यटनको हब बनाउन लाग्न अनुरोध गरे । त्यस्तै पर्यटन बोर्डका सल्लाहकार संयोजक भाष्कर सिटौलाले दोमुखालाई प्रचारप्रसारको अभाव भएको भन्दै त्यसमा लाग्न सबैलाई सल्लाह दिए ।

बोर्डका प्रथम उपाध्यक्ष चूडामणि तिम्सिना रमेशले मठ मन्दिरले दोमुखालाई धार्मिक बनाएको र यसलाई व्यवस्थापन गर्न पर्यटन बोर्ड पूरै लागेको बताए । उनले माईधारको दोमुखा प्रवेशद्वारदेखि दोमुखाको साढे चार किलोमिटर यात्रामा रातको समयमा पोललाइट र निजी सुरक्षाकर्मी समेत राखिएको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारको तर्फबाट सरोज भट्टराई, मञ्जिल नेपाल, पवन चाम्लिङ राई लगायतले समस्या र समाधानका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसायीहरुले प्राकृतिक खोलामा ढल मिसाएको, स्वीमिङ पुल र चिल्ड्रेन पार्क अव्यवस्थित भएको, शौचालय व्यवस्थापन हुन नसकेको, दोमुखाको ब्राण्ड खाना यकिन गर्न नसकिएको जस्ता चुनौति प्रस्तुत गरेका थिए ।

अध्यक्ष लिम्बूले औंल्याइएका सबै विषयप्रति आफू र पर्यटन बोर्ड गम्भीर भएको भन्दै सबै विषयलाई सम्बोधन गर्ने प्रतिवद्धतासहित दोमुखामा एक सय आठ वटा धारा निर्माण गर्ने जानकारी दिए । बोर्डका अध्यक्ष धनप्रसाद लिम्बूको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here