सामान्यतः वंश वा अन्य कुनै आधारमा कोही स्थायी प्रकारको शासक नभई जनताका प्रतिनिधिले निश्चित विधिका आधारमा छानिई निश्चित अवधिसम्म जनताका लागि गर्ने शासन नै गणतन्त्र हो । यसबाट राजतन्त्र स्वतः गणतन्त्रको विपरीतध्रुबी हो भनेर बुझ्नु पर्दछ । नेपालमा गणतन्त्र स्थापना भएज्ञको डेढ दशक बितिसकेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाह राजतन्त्रको प्रतीकको रूपमा रहेको राजशाही आवास नारायणीहिटी दरबार शान्त र गम्भीर रूपमा त्यागेर नेपाल सरकारले छुट्याएको गोकर्णस्थित आवासमा बसाइँ सरेको पनि डेढ दशक बितिसकेको छ । नेपाली जनताले सात दशक बढी समयदेखि जनताले निर्वाचित गरेको संविधानसभाबाट जनताका लागि संविधान बनाउने सङ्कल्प चाहिँ नेपालको संविधान २०७२ ले नयाँ संविधान निर्माण भएपछि मात्र पुरा भएको थियो ।
सामन्तवादी राज्यसत्ताको उपरीसंरचनाको रूपमा राजतन्त्र रहेको थियो, तर मुलुक सुगौली सन्धिपछि नै क्रमशः पूँजीवादी मार्गमा अग्रसर भएको थियो । तसर्थ, नेपाली जनताको निरन्तरको सङ्घर्ष राजतन्त्रबिरुद्ध मात्र लक्षित थिएन, त्यो त बचेखँुचेका सामन्तवादी अवशेष र मानवताविरोधी शोषणको मुख्य आधार दलाल पुँजीवादी व्यवस्थाका बिरुद्ध थियो । तर, सामन्तवादी संस्कृति र पुँजीवादी व्यवस्था अहिले पनि कायम छ । त्यसकै कारण दशकौं लामो संघर्षले सफलता प्राप्त गरेपछि पनि नेपाली जनताको मनमा शान्ति आउन सकेको छैन, नेपाली जनताको मुहारमा कान्ति आउन सकेको छैन । गणतन्त्र स्थापनाका लागि रणमैदानमा उत्रिएका सयौं, हजारौं कार्यकर्ता र समर्थकको सोचमा भ्रान्ति आउन थालेको छ । कतिपय नेताहरु पदलोलुपताले वशिभूत भएर आफ्नो इतिहास एकै पटकमा तिलाञ्जली दिन तयार भएका छन् । नेपालका सबै सङ्घर्ष र आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न सक्ने ल्याकत बोकेको मानिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट नेपाली जनताको चाहना र भावनाले मूर्तता प्राप्त गर्न सकेको छैन ।
सन्दर्भः गणतन्त्र दिवस
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिकता र समावेशितासहितको ऐतिहासिक संविधानले समाज–सोपानको जगमा रहेर नित्यनिरन्तर श्रम गर्ने मेहनतकश जनताको जीवनमा खुशियाली ल्याउन सकेको छैन । गौरवमय गणतन्त्रले दीनदुःखीको दर्दमा मल्हम र पट्टी लगाउन सकेको छैन । वैज्ञानिक समाजवादका प्रणेता कार्ल माक्र्स भन्छन्– ‘शोषकको ओठको मुस्कान गरिबको रोदनबाट लुटिएको हुन्छ ।’ आज भुइँमान्छेहरु रोइरहेका छन् भने मुलुकमा को मुस्काइरहेका छन् ? राजतन्त्र नभएको र आवधिक निर्वाचनबाट चुनिएका प्रतिनिधिले शासन गर्ने पद्धतिलाई गणतन्त्रका रूपमा परिभाषित गर्ने गरिन्छ ।
यस्तो व्यवस्थामा देशको मूल व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री जन्मको आधारमा होइन, उसका कर्मका आधारमा जनताले निर्वाचित गरेर मात्र हुन सक्छ । तर प्रश्न उठ्छ– राजतन्त्र भएका सबै मुलुक गरीब छन् ? गणतन्त्र भएका सबै मुलुक सम्पन्न छन् र ? प्रश्न राज्यव्यवस्थाको मात्र होइन, प्रश्न राज्यसंयन्त्रले जनताको कस्तो सेवा गरिरहेको छ भन्ने पनि हो । स्वतन्त्रता मानवीय नैसर्गिक चाहना हो र दासता वा उत्पीडनको विरोध सचेत मानिसको स्वभाव हो । जतिसुकै राम्रो राज्यव्यवस्था भए पनि त्यसले अधिकार र कर्तव्यको व्यवस्था मात्र गर्छ, क्षमता दिँदैन । कार्यान्वयन गर्ने क्षमता सरकार र राजनीतिक दलले देखाउनुपर्छ । गणतन्त्र घोषणा गर्दैमा जनतामा साँचो खुशियाली आउने होइन भन्ने कुरा बुझ्न नेपालकै इतिहास पढ्दा हुन्छ । पन्ध्र वर्षभन्दा बढी भइसक्दा पनि गणतन्त्र शिशु अवस्थामै रहनु चिन्ताको विषय हो । मुलुक अहिले पनि सङ्क्रमणकालबाट गुज्रनु परेको तीतो यथार्थले जनतामा द्विविधा र संशय सृजेको छ । के गणतन्त्र नेपालमा टिक्ला ? गणतन्त्रले जनतामा किन सन्तुष्टिको अभिवृद्धि गर्न सकेन ?
नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था छ । गणतान्त्रिक चेतनाको पृष्ठभूमिको कुरा गर्दा यो निकै लामो देखिन्छ र यसलाई आनुवंशिक राजतन्त्रको आरम्भ हुनुअघिको स्वतःस्फूर्त गणतान्त्रिक समाजको परिवेश र तज्जन्य चेतनासँग जोडेर हेर्नु पर्दछ । राजतन्त्र तथा सिङ्गो सामन्तवादका बिरुद्ध हुङ्कार गर्दै हजारौं शहीदहरुको रक्तरञ्जित बलिदानीको लामो सूची गणतान्त्रिक चेतनाको पृष्ठभूमि हो । क्रान्तिकारी दृढता सम्झौताहीन ढङ्गले शब्द र कर्मको एकत्वका साथ अघि बढ्दै जाने क्रममा आजको गणतान्त्रिक राज्यव्यवस्था स्थापना हुन सफल भएको हो । वर्गबोधी चेतनाले नेपाली समाजमा सामन्तवाद विरोधी विद्रोही चेतनाको बीजारोपण भएपछि उत्पीडितहरुका जीवनमा गणतन्त्रको सुन्दर बिहान झुल्कने सपना साँचिएको थियो ।
शोषण, उत्पीडन, विभेदका बिरुद्धका सङ्घर्षका अन्तर्यमा निहित त्याग, बलिदान र उत्सर्गको भाव तथा सामन्तवादविरोधी नवीन संस्कृतिको अभ्यासले विचार र व्यवहारका क्षेत्रमा गणतान्त्रिक चेतनाको उदात्तीकरण र कलात्मक बिम्बीकरण गर्ने परिवेशको निर्माण ग¥यो । सत्ताको तीव्र दमनका बावजुद पनि निर्भीकतापूर्वक गणतान्त्रिक चेतनालाई नेपाली समाजमा मलजल गर्ने कार्य गरियो । सामन्तवाद साम्राज्यवाद विरोधी चेतनाकै कारण नेपालमा गणतन्त्रको जन्म हुन सकेकोमा दुईमत छैन । नेपालको इतिहासमा सामन्तवादी निरंकुशताबिरुद्ध राजनीतिक आन्दोलनको आरम्भ भएपछि गणतन्त्रको विजयको यात्राको शुभारम्भ भएको मान्न सकिन्छ । नेपाली गणतान्त्रिक चेतनाको औपचारिक र मूर्त अभिव्यक्ति राणाशासन विरोधी आन्दोलनकै सेरोफेरोबाट भएको हो । एक सय वर्षको अवधिको पृष्ठभूमि बोकेको गणतन्त्र प्राप्तिको चाहना र चेतना लामो कालखण्डदेखि नेपाली समाजमा कुनै न कुनै रुपमा विद्यमान रहेको थियो ।
नेपाली समाजमा प्राचीन कालमा वंशानुगत राजतन्त्रको आरम्भ हँुदादेखि नै पनि राजतन्त्र विरोधी चेतना थियो । राजतन्त्र र सामन्तवादका बिरुद्ध विद्रोह बोलिरहने प्रखर सुधारवादी चेतना र वर्णवाद, जातिवाद, हिंंसावाद र कर्मकाण्डी संस्कारका विरोधका गर्भबाट गणतन्त्रको भ्रुण विकास भएको हो । गणतान्त्रिक चेतनाभित्र वर्गीय, जातीय, नस्लीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनको कारक सामन्तवाद र पुँजीवाद समेतका बिरुद्धको चेतना लुकेको छ । उत्पीडनलाई कायम राखि राख्ने यथास्थितिवादी परिपाटी र व्यवस्थाका बिरुद्धको र त्यसको अन्त्यको चाहनाबाट गणतन्त्र निःसृत भएको हो ।
सामन्तवाद विरोधी भावना र गतिविधिको बढोत्तरीले आफै चमत्कारी उपक्रमका रुपमा गणतन्त्रको विकास हुँदैन भन्ने सच्चाइलाई आत्मसात गर्न जरुरी छ । मानवजातिलाई अमानवीकरण गर्ने र विभिन्न किसिमको उत्पीडन गर्ने मानवद्वेषी सामन्तवादी र पुँजीवादी व्यवस्थाका विविधरूपका बिरुद्धको चेतनालाई गणतन्त्रको चेतनाका रूपमा लिनु पर्दछ र यथार्थमा सारमा गणतन्त्र प्राप्तिको लडाइँ जारी छ । रूपमा आएको गणतन्त्र सारमा प्रत्याभूत हुन अझै धेरै सङ्घर्ष गर्न बाँकी छ । नेपाल आमाका सुयोग्य सन्तानहरुले नेपाली धरतीमा बगाएको रगतको मूल्य खेर जानु हुँदैन । गणतन्त्रको भाले नेपालका बस्तीहरुमा अझै बासेको छैन । गणतन्त्रको घाम अझै नेपालका सबै टाकुराहरुमा लागेको छैन ।
नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादोन्मुख राज्यव्यवस्थाको आधार खडा गर्न सकेमा मात्र गणतन्त्रको उपादेयता सिद्ध हुन सक्छ । गणतन्त्रको कल्की भिरेर शासनको करेली हातमा लिनेहरुमा पनि राजतन्त्रको ‘भूत्याहा आत्मा’ अझै जीवित रहेको दर्जनौं उदाहरणहरु छन् । गणतन्त्र कस्तो रंगको छ ? राजतन्त्रको आत्मा बोकेर रंगिएको गणतन्त्रले राजतन्त्रकै सेवा गर्ने हो । पात्र फेरिने हो, परिवेश फेरिने हो, तर जनताको भुक्तमान उही, क्रन्दन उही, रोदन उही । शिक्षा, स्वास्थ्य र रोजगारका लागि गणतन्त्रसहितको राज्यव्यवस्थाले जनताका लागि केही नगर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक भयो ?
जनतालाई आर्थिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । जनतालाई स्वतन्त्रतासहितको लोकतन्त्र चाहिएको हो । जनतालाई राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारसहितको लोकतन्त्र चाहिएको हो । उपरीसंरचनामा आएको फगत निस्तो गणतन्त्रले जनताको ओठमा मुस्कान कसरी दिन्छ र ? जनताको रोदन हटाउने महासङ्कल्पसहित ल्याइएको थारो लोकतन्त्रले कसरी जनताको हृदयमा आशाको दियो बाल्न सक्छ ? तसर्थ, गणतन्त्र जनताको पक्षमा हुनुपर्छ । त्यसैले लोकतन्त्र जनताको हितमा हुनुपर्छ । गणतन्त्र दुधालु गाई हुनुपर्छ ।