गोठधुप संस्कृति र खस सभ्यता

0
7

अहिले बुद्ध पूर्णिमासँगै उभौली पर्व चलिरहेको छ । विशेष गरेर किरातीहरुले चण्डी नाचेर र खस सभ्यताबाट आएका ब्राहम्ण, क्षेत्री, ठकुरी र खस दशनामीहरुले गोठधूप कुल पूजा देवाली मस्ट पूजा गरी मनाइरहेका छन् । गोठधूप संस्कृतिको उठान गर्दा मानव सभ्यताका शुरवाती कृषि र पशुपालनको युगमा पु¥याउँछ ।

गोठ भन्नासाथ पालेका घरेलु जनावरहरुको आश्रय स्थल हो । जङ्गली जनावरबाट सुरक्षित राख्न मान्छेले पशुलाई गोठमा राख्न थाले र हिंसक जनावर तथा रोग व्याधिबाट जोगाउन आफ्ना चौपायाको गोठपूजा गर्ने प्रथा रहेको किंवदन्ती पाइन्छ । खासगरी गोठधूपको संस्कृति खस सभ्यतासँग गासिएको पाइन्छ । पश्चिम नेपालमा खस साम्राज्य हुँदा खस राजा नागराजले पशु गोठहरु जाडो बढ्दै जाँदा दैलेखको दुल्लुतिर चिसो छल्न उधौली र गर्मी चड्दै जाँदा उखुमबाट जोगिन जुम्लाको सिन्जातिर उभौली वर्षको दुई पटक बसाई सराई सार्ने चलन चलाएको पाइन्छ । यसरी उधौली–उभौली मंसिरे धान्य पूर्णिमा र बैशाखको बुद्ध पूर्णिमा पर्वको बेलामा अर्थात् वर्षको दुई पटक परापूर्वकदेखि सोही क्षेत्रमा थातथलो रहेको खस आर्यहरुले आजसम्म पनि यो संस्कृति पूजा मनाउँदै आइरहेका छन् ।

गोठधूपमा गोठका सबै देवी–देवताहरुको पूजा गरिएता पनि मुख्यरुपमा पूजिने देवता मस्त मन्डलादी विन्दवासिनी हुन् । मस्त भन्नाले महारुद शिव र विन्दबासिनी भन्नाले पार्वती हुन् । महारुद्रलाई मस्टा देवताको मामाको रुपमा पूजिन्छ । गोबरमा धेरै वटा औलाले सहस्रधारा कुण्ड बनाई दूध चडाई कैलाश मानसरोवको राजा–रानी अर्थात् शिव–पार्वतीको पनि मानभाउसहित बक्साएर पूजापाठ, दोलखाको पाँच पाण्डव भिमसेन, नाम्लुङ सिकारी, डाँडापारिको देऊ, र गोठका रखवाला आइतबारेसम्मको पनि पूजा हुन्छ ।

यस पूजामा आफ्ना दाजुभाइ भेला भएर एउटा घरमा गाई, भैसीको थलामा सामुहिक रुपमा जम्मा हुन्छन् । पूजाका लागि आफन्तले सबै घरबाट दूध लगायत अन्य पूजा भेटी फूलफलेदो सामग्रीहरु ल्याउँछन् र सामुहिक पूजा गर्छन् । मस्ताको प्रतिकको रुपमा गोबरको कुण्ड बनाई ढुङ्गाको थपना ठडाउने बाँस, सिमली, पैयू, अमलाको लिङ्गोमा ध्वजापताका सिन्दुर अविर लगाएको काठको मूर्चलसहित थान बनाइन्छ ।

थानमा धानको पिठोको ठाडो तेस्रो रेखी हाली सोही माथि सिमलीको पत्ता ओध्याई सो माथि खीर, बाबर, रोटी चडाई लिङ्गोमा काचो धागोले बाँधेर रातो रङ, अक्षेता, फूल चढाई दियो, कलश, थापि ठेका, दुधेरा, मदानी एउटै सरामा बाँधेर टाट्नोको आडमा झुण्डाएर गाईको घीऊ सुनपाति, भैरुङपाति, धूपीलाई केराको दाम्चामा उठाएको आगोको कोइलामा तितेपाती फूलको पातको मुठाले थूप हाल्दै देवतालाई यसरी पुकारिन्छ– परमेश्वरा तिमी महारुद्र गौरी गोस्वाई गोष्ठादी देवता हौ तिमी चौपाया दौपायाको धनि सृष्टिका धनि हौ तिमीले हाम्रा पशु चौपायाको रक्षा गरिदेउ खोक्ने, धक्ने, लमुते मुत्ने, छेर्ने जस्ता सबै रोगको हरण गरिदेउ भन्दै फलाक्छनु ।

भेला भएका सबै दाजुभाइ सामुहिकरुपमा शंख, घण्टा, चमर, ठेकी दुधेरो मदानी बोकेर तीन पटक गोठ परिक्रमा गर्छन् । गोठथला परिक्रमा गर्दा माछाको पेरुङ्गो पनि साथै हुन्छ । आदिम पौराणिक कालमा हासुले पाडुले नामका दुई वटा कुकुरहरुले गोठका चौपायाहरुको सुरक्षा गरेको कहानी मुताबिक दुई जना लोग्ने मान्छेलाई कुकुर बनाई खीर खुवाई धनुषकाँड हान्ने पनि गरिन्छ । पूर्णिमा बुधबार भएमा गोठधूप गर्न हँुदैन भनेर कतिले पञ्चमी वा दशमीमा गर्ने गरेको पाइन्छ । गोष्ठादी देवता खुशी भएपछि चौपाया दौपाया मौलाएर जाने, अन्न पानीमा शह बस्ने विस्वास गरिन्छ । गोठ पूजा गरेपछि मात्र घर पूजा गर्ने रीति पनि चलेको छ ।

खस मस्टा परम्परा मान्ने धेरैजसो जातिले गोठधूपमा गाई, भैसी बाँधेको किलो दाम्लोमा परेवा, कुखुरा, बोका काटेर मस्टालाई बली चढाउने परम्परा पनि पाइन्छ । विशेषतः गोष्ठादी भनिने गोठ पूजा उधौलीमा दक्षिण उधो फर्किएर उभौलीमा उत्तर उभो फर्किएर गरिन्छ । यो धूपको विशेषता भनेकै खीर पकाउने र खीर कै प्रसादी बाड्ने हो ।

कुनै धर्म ग्रन्थ शास्त्रमा पूजा विधि नलेखिएको गोठधूप हाम्रो पुर्खाहरुले मानि ल्याएको एउटा परम्परागत मौलिक नेपाली संस्कृति हो । बदलिँदो नेपाली समाज बसाई, सराईसँगै पशुपालन व्यावसाय छोड्दै शहर केन्द्रित विलासी जीवनयापन गर्ने देखासिकी बढेसँगै पशुपालन व्यावसाय संकटमा र गोठधूप संस्कृति हराउँदै गएको आभाष हुन्छ । हाम्रा भावी पुस्तालाई हाम्रो सग्लो संस्कृति सुम्पेर हाम्रो खस सभ्यताको संरक्षण गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here