एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर झापा गोल्डकपको सम्मान

0
4

झापा । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अण्डर १३ तर्फ अखिल नेपाल फुटबल संघ (एन्फा)–को छनोटमा परेकी झापा भद्रपुर निवासी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मानसहित सफल खेल जीवनका लागि बधाइ ज्ञापन गरेको छ ।
भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला फुटबल प्रशिक्षणमा नियमित सहभागिता जनाइरहेकी रिक्छेनलाई एन्फाले महिला फुटबल प्रशिक्षणका लागि कोशी प्रदेशबाट छनोट गरेको हो ।
भद्रपुर झापा गोल्डकपका फुटबल प्रशिक्षकहरु गम्भीर राई, अर्जुन राई, भरत गुरुङ र टेकबहादुर राईले विगत ६ महिनादेखि भद्रपुर क्षेत्रका २२ जना महिला खेलाडीलाई फुटबलको प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षमा फरवार्ड पोजिशनमा आफूलाई अब्बल सावित गर्दै आएकी रिक्छेनलाई एन्फाले उनको खेल कौशल देखेर प्रशिक्षणका लागि छनोट गरेको प्रशिक्षक भरत गुरुङले बताए ।
आज मंगलबार मेची रंगशालास्थित भद्रपुर झापा गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच रिक्छेनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उपाध्यक्ष मनोज सुब्बा, महासचिव जीवनकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सदस्य नितेश वर्मा, कुमार श्रेष्ठ, खोमाकुमारी दाहाल, शम्सेर मोक्तान,लगायतले रिक्छेनलाई अबिर–खादा लगाएर सम्मासहित एन्फाको प्रशिक्षणमा अब्बल खेल खेल प्रदर्शन गर्न सुझाव दिएका थिए ।
अब रिक्छेनले एन्फाको क्यालेन्डर अनुसार प्रशिक्षण लिने छिन् ।
रिक्छेन एन्फाको छनोटमा पर्नु भद्रपुर झापा गोल्डकपको एक महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष ढकालले बताएका छन् । अहिले भद्रपुर झापा गोल्डकपले महिलाहरुको प्रशिक्षण गराउन थालेपछि झापामा फुटबल खेलतर्फ छात्राहरु निकै उत्साहित देखिन थालेका पनि छन् ।
भद्रपुर झापा गोल्डकपले २०७९ फागुनमा अत्यन्त भव्यताका साथ सफलतापूर्वक प्रथम भद्रपुर झापा गोल्डकप सम्पन्न गरेलगत्तै पुरुषतर्फको अण्डर १९ र अण्डर १५ को प्रशिक्षण, ग्रासरुट प्रशिक्षण सुरु गर्नुका साथै गत वर्षको मंसिरमा झापामै पहिलोपटक जिल्लास्तरीय अन्तरपालिका लिग तथा नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
यही वर्षको फागुन महिनामा दोस्रो भद्रपुर झापा गोल्डकप आयोजनाको तयारीमा जुटिसकेको भद्रपुर झापा गोल्डकपले झापाको फुटबल प्रवद्र्धनका लागि सबै पक्ष एकजुट हुन आह्वान पनि गरेको छ । ‘झापालाई फुटबल हब बनाउन हामी लागिपरेका छौं’, गोल्डकपका अध्यक्ष ढकालले भने– ‘तर, यो हाम्रो प्रयासबाट मात्र संभव छैन, सबै क्षेत्रको साथ–सहयोग चाहिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here