वीपीले नै छुवाछुत मुक्ति र जातीय सहभागिताको अभियान चलाएका थिए– थेवे

0
6

बिर्तामोड।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले नै छुवाछुत मुक्ति र जातीय सहभागिताको अभियान चलाउनुभएको बताउनुभएको छ ।

नेपाल दलित संघ झापाको आयोजनामा छुवाछुत मुक्त राष्ट्र घोषणाको १८ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस झापाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो विचार राख्नुभएको हो ।

पिछडिएका जातजातिलाई अवसर प्रदान गरेर राज्यसंयन्त्र मा वीपीले २००७ सालमै सहभागी गराएको बताउँदै उहाँले नेपाली कांग्रेसको नेतृत्वमा ल्याइएको नेपालको संविधान–२०७२ ले राज्यका हरेक संयन्त्रमा समानुपातिक सहभागीताको ब्यवस्था गरेको बताउनुभयो ।

समानुपातिक सहभागिताको संवैधानिक ब्यवस्था नहुँदै वी.पी. कोइरालाले आफू प्रधानमन्त्री हुँदा पिछडिएको जातजाति, वर्ग क्षेत्र र लिङ्गका आधारमा समानुपातिक प्रतिनिधित्वसहितको मन्त्रीमण्डल गठन गरेको इतिहास स्मरण गर्नुभयो ।

नेपाली कांग्रेस पार्टीको विधानमा समेत प्रत्येक तहगत संरचनामा पिछडिएका जातजाति, क्षेत्र, बर्ग, लिङ्गको सहभागिता सुनिश्चित गरिएको र सोही अनुरुप सहभागिता बढाइएको सभापति थेवेले जानकारी दिनुभयो । आफ्नो सांगठनिक संरचनालाई वडादेखि जिल्ला तहसम्मै चुस्तदुरुस्त राख्न नेपाल दलित संघलाई उहाँले निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले कानुनी रूपमा मात्रै छुवाछुत र विभेद सम्बन्धी समस्या समाधान भएर नहुने बताउँदै भावी पिढीलाइ राम्रो शिक्षा दिएर मात्रै छुवाछूत अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।

पछिल्लो समय जातजातिबीच भन्दा अभाव र गरिबी भोगिरहेकाहरुले छुवाछूतबाट बढी पीडा भोग्नुपरेको बताउँदै उपसभापति पाण्डेले सबैको मुक्तिका लागि बिपीले दुखको बाटो रोजेकै कारण जनताले समानताको अनुभुति गर्न पाएको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस कोशी प्रदेश सदस्य राजकुमार बराइलीले २०४६ सालको जन आन्दोलनपश्चात् कागजी रुपमा थुप्रै उपलब्धि भए पनि कार्यान्वयन चुस्त दुरुस्त नभएको बताउँदै ब्यवहारिक रुपमा अझै विभेद नहटेको धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले चेतनास्तरका आधारमै मान्छे हुने उल्लेख गर्दै मान्छे– मान्छेबीचमा विभेद गर्न नहुने बताउनुभयो । कार्यक्रममा नेपाल दलित संघ कोशीका सचिव जीवन परियार, पूर्व केन्द्रीय सदस्य टंक विश्वकर्मा र हस्त परियार, अगममान बिक मिना गजमेर लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।

छुवाछुत मुक्त राष्ट्र घोषणा एवं यससम्बन्धी कानुनी र संवैधानिक ब्यवस्थाका बारे अधिबक्ता नारायणप्रसाद पौडेलले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण दिदै अधिबक्ता पौडेलले परिवर्तित समय र आवश्यकताका आधारमा कानूनहरु संशोधन हुने बताउँदै आवश्यकताकै आधारमा छुवाछुतमुक्त राष्ट्र घोषणा भएकाले यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेको धारणा राख्नुभयो ।

नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछूत सम्बन्धि ब्यवस्था रहेको र छुवाछूत गरेमा १ हजारदेखि २५ हजार जरिवानाको ब्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । नेपाल दलित संघ झापाका अध्यक्ष दलबहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ध्रुव कनालले गर्नुभएको थियो भने सञ्चालन पम्फा विश्वकर्माले गर्नुभएको थियो ।

कार्यक्रममा विर्तामोड–५ का सविता मल्लिकसहित २० बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने सवैलाई उपसभापति पाण्डे र सचिव हुमागाईले पार्टीको साधारण सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here