कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल जारी

0
8

विराटनगर,

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल पनि जारी रह्यो ।

यही जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ लागि प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा हिजो १९ जना र आज २५ जना प्रदेशसभा सदस्यले छलफलमा भाग लिनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरुले प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदा जनताले गणतन्त्रको अनुभूति गर्नसक्ने बताउनुभएको थियो ।

प्रदेशको धार्मिक तथा पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधारसहितको संरचना तयार भएमा पर्यटन प्रवर्द्धन र थप रोजगारी सिर्जना हुने उहाँहरुको भनाइ थियो ।

ऋण र अनुदानबाट चल्ने हाम्रो देशको अर्थतन्त्रलाई बलियो बनाउन घरेलु मदिरा र गाँजा खेती गर्न पनि सरकारले छुट दिनुपर्ने भन्दै उहाँहरूले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा लगानी बढाउनुपर्ने धारणा राख्नुभएको थियो । “रोजगार र सीपमूलक शिक्षाले मात्र गरिबी निवारणमा मद्दत गर्नेतर्फ नीति तथा कार्यक्रममा समेटिएको छैन र यस्ता विषयलाई समावेश गर्नुपर्छ । सुनसरीको दुहबी र इनरुवा जोड्ने सडक चारलेन बनाउन र प्रदेश मातहतमा रहेका अस्पताललाई स्तरोन्नति गरी समयसापेक्ष सुविधा सम्पन्न बनाउनुपर्छ”, उहाँहरुको उहाँहरूमध्ये धेरैको सुझाव थियो ।

छलफलमा मीरादेवी खनाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ, रामप्रसाद महतो र जयप्रकाश चौधरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलालले तेह्रथुममा दुग्ध उत्पादक कृषकले कात्तिक महिनादेखि अहिलेसम्म दुग्धको भुक्तानी नपाएकातर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ढाकाको राजधानी मानिएको तेह्रथुममा तान बुन्नेलाई व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने माग पनि गर्नुभयो ।
सदस्य होमबहादुर थापाले जेठ २१ गते रतुवामाई नदीमा बगाएको गाडीमा दुईजनाको मृत्यु भएकाले प्रदेश सरकारले राहत दिनुपर्ने माग गर्नुभयो ।

अर्का सदस्य खगेश्वरी पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित भएर बन्ने बजेटलाई सफल बनाउन कार्यान्वयन पक्षमा सरकार गम्भीर हुनुपर्ने ध्यानाकर्षण गराउनुभयो ।

सदस्य ललिताकुमारी चौधरीले तराईवासीले मान्दै आएको ग्रामथानलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्नुपर्ने माग राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here