सापकोटाविरुद्धको मुद्दामा आगामी असार १२ गते निर्णय सुनाउने

0
7

काठमाडौँ,

सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएपछि आगामी असार १२ गते निर्णय सुनाउने मिति तय गरिएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले मुद्दाको अन्तिम सुनुवाइ सकिएको र आगामी असार १२ गतेका लागि निर्णय सुनाउने मिति तय भएको जानकारी दिनुभयो ।

विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो । उक्त घटनाविरुद्ध लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि विसं २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेको अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here