बुट्टाबारी ।
स्वच्छ समाजका लागी सामाजिक अभियान अर्जुनधारा–११ लाई आवासका लागी स्थानीय इङ्गनाम परिवारले आर्थिक सहयोग प्रदान गरेका छन् ।
अभियानले असहाय दृष्टिविहीन, अपाङ्ग, दिन–दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि बाटोका टुटेफुटेका सिसा, प्लास्टिक आदि संकलन गरी बिक्री गरेर संकलन भएको रकमले अर्जुनधारा–११ प्रगति टोल देवनिया बस्तीमा दुई कट्ठा सात धुर जमिन खरिद गरेको थियो । खरिद गरेको आधा रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताए ।
यसै क्रममा एक व्यक्ति एक धुर सहयोग गर्ने अभियान अन्तर्गत अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई इङ्गनाम, अर्जुनधारा नगरपालिका वडा नं. ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम तथा उनका छोरा–बुहारी असिम र अनिशा इङ्गनामले पितृहरुको नाममा एक धुर बराबरको रकम ७० हजार एक सय ११ रुपैयाँ अभियानका आर्थिक संयोजक बुद्धिलाई चौधरी र अध्यक्ष गणेश ढुङ्गानालाई हस्तान्तरण गरेका थिए ।
अभियानलाई सहयोग गरेको भन्दै बोलप्रसाद कोइराला एवम् सचिव अभिचन्द्र बाँस्कोटाले उनीहरुलाई सम्मान गरेका थिए । दृष्टिविहीन असहायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदा खुशी लागेको र यो इमानदार साथ सम्पन्न गर्नका लागि सहगोगी वडाध्यक्ष इङ्गनाम, पूर्व राष्ट्रसेवक राईले शुभकामना व्यक्त गरेका थिए ।