प्राकृतिक स्रोत सम्पदाको सहज हस्तान्तरण

२४ जेष्ठ २०८१, बिहीबार मा प्रकाशित

दिनानुदिन बढ्दो तापक्रम र प्रकृतिसँग नराम्रो गरि पौठेजोरी खेलिरहेको आधुनिक प्रविधि हेर्दा लाग्छ कि अब छिट्टै नै धर्मशास्त्रको भाषामा भन्दा पृथ्वी प्रलय हुँदैछ । सम्पूर्ण मानव जीवनको मात्र नभएर जलचर स्थलचर उभयचर वनस्पति सबैको बराबरी हक र अधिकार लाग्ने पृथ्वीको नराम्ररी दोहन हुँदैछ । बेमौसमी वर्षा हुँदैछ । सुख्खा खडेरी खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टि हुनु बाढी–पहिरो जानु इतिहास साक्षी बसेका सेताम्मे हिमालहरु हिँउ पग्लेर कालापत्थरमा परिणत हुँदै जानु र हिमतालहरु बिस्फोट भएर धनजनको विनास हँुदै जानुले हामीले साच्चै नै आफ्नै खुट्टामा वञ्चरो हान्दैछौं ।

आफंैले खनेको खाल्डोमा आफू परिरहेकाछौँ कि विभिन्नखाले मानव निर्मित र प्रकृतिका विषाक्त ग्याँसहरुले तातोपना पृथ्वीमा सोसेर राख्नु र क्रमशः ओजोन तहको विनास हुँदै जानुले पनि सूर्यको परावैजनी किरण हामीसम्म आइपुग्नाले बालीनाली जलवर्षा प्रजनन् प्रणालीदेखि समग्र कृषि क्षेत्र पशुपंक्षी वनस्पति मानवजीवनको दैनिकी सबै उल्टाइदिएको छ । नेत्र रोग, चर्म रोग, प्रजनन् स्वास्थ्यमा असरदेखि क्यान्सरसम्मका रोगहरु तापमान वृद्धिका परिणामहरु हुन् ।

यी समस्याहरु हामी आफंैले निम्त्याएका समस्याहरु हुन् । दिनदिनै भूखण्डीकरण सिमेन्टका गगनचुम्बी महलहरु बन्ने प्रतिस्पर्धा जसलाई शहरीकरण पनि भनिन्छ । जताततैको कृषिबाली लगाउने ठाउँ मासेर गिटी, बालुवा भर्दै मरुभूमिकरण गरिँदै छ । रुखहरु हरियाली शितलता वातावरण शुद्धिकरण गर्ने मात्रै थिएनन्, विश्वव्यापी उष्णतालाई रोक्ने र अक्सिजन पर्याप्त दिने साधन पनि हुन् र थिए । तर, अव्यवस्थित शहरीकरण र दिगो विकासका सिद्धान्त भुलेर हतारो गरी भोट जित्नलाई जनताको आँखामा छारो हाली देखाइदिने अव्यवस्थित विकासले परिणाम स्वरूप ल्याएको प्रतिफल हो विनास ।

प्रकृति र मानवबीच एकआपसमा परिपूरक सम्बन्ध गाँस्न नसक्दा आज सिंगो पृथ्वीमै विभिन्न विपत्तिका घटनाहरु सुनिन्छ । हिमालयको काखमा रहेको देश नेपाल जलस्रोतमा दोस्रो धनी राष्ट्र नेपाल, विश्वका अग्ला आठ वटा हिमालदेखि लिएर सर्वोच्च शिखर रहेको देश विभिन्न प्राकृतिक सम्पदा, जडिबुटी, वनजंगलले हराभरा विश्वकै प्राकृतिक मनोरममा पर्यटकको पहिलो गन्तव्यमा पर्ने देश, कति सुन्दर पशुपंक्षी, विश्वकै दुर्लभ प्रजातिहरू विचरण गर्ने देश जैविक विविधतामा अति धनीदेश, ढकमक्क लालिगुँरास फुलेर राष्ट्रिय शान पाएको फूलले एकपटक सबैलाई मोहनी लगाउने धर्तीको एक स्वर्ण टुक्रा नेपाललाई समयमै नचिनिएको रहेछ ।

विविधताले भरिपूर्ण देशमा रुख बिरुवा धमाधम काटिँदैछ, मासिँदैछ । दही–चिउरा खान असार १५ नै पर्खनु परे जस्तै यहाँ बाँच्नको लागि श्वास भरिदिने हरियाली वृक्षरोपण गर्न विश्व वातावरण दिवस पर्खनुपर्छ । सरोकारवालाहरुले तामझामका साथ फोटोग्राफर र पत्रकार साक्षी राखेर केही संख्यामा बिरुवा रोप्ने प्रणाली नौलो भने होइन । जन्म दिएको नवजात शिशुलाई खुवाएर पियाएर हुर्काइ–बढाई गरे जस्तै त्यो बिरुवा रोपिसकेपछि त्यसलाई चाहिने मलजल, सुरक्षा, बारबेराप्रति ध्यान भने कसैको जाँदैन । वृक्षरोपण गरिएको छ भनेर जहाँ समाचार बन्यो त्यो एक औपचारिकता मात्र हो । रोपिएका हजारौं बिरुवाहरु त्यतिकै गोडमेल, पानी र हेरचाह नपाएर वस्तु बाख्राले खाने, कुल्चने, चोरी हुने र सुकेर जाने नौलो कुरा होइन ।

हाल आएर वातावरण प्रभाव मूल्यांकन (भ्क्ष्ब्) हुन थालेको छ । स्थानीय सरकारले केही राम्रा कुराहरु परिचय गराउन शुरु गर्नु राम्रो कुरा हो ्रधुलो, धुँवा, प्रदूषण मोटर वाहनले खनिज तेल प्रयोगमा फ्याक्ने धुँवा, उद्योगधन्दा आदिबाट निस्किएका फोहोरहरु, अस्पताल, ल्याव अनुसन्धान केन्द्रदेखि घरायसी फोहोर मैलाहरु हरितगृह ग्याँस उत्सर्जन गर्ने कारक तत्वहरु हुन् । जतासुकै फोहोर फाल्नेलाई कानूनी कठघरामा उभ्याउने र समय समयमा जनचेतनामूलक कार्यहरु गर्दै जाने र मानवबस्तीबाट र खुल्ला जलस्रोतहरुबाट टाढा मात्रै उद्योगहरु स्थापना गर्ने ।

वृक्षरोपण सामुदायिक क्षेत्रमा प्रोत्साहन गरी वनपैदावार ाट लाभ लिने, निकुन्ज, आरक्षण क्षेत्र सिमसार क्षेत्रलाई संरक्षण गर्दै दुर्लभ पशुपंक्षी, उत्सर्जन कम गर्दै वनस्पति, जडिबुटीको संरक्षण गर्ने, क्लोरोफ्लोकार्बन जस्ता मानव निर्मित ओजोन विनाशक तत्वदेखि कार्बनडाइअक्साइड, कार्बनमोनोक्साइड, मिथेन जस्ता ग्याँसहरूको उत्सर्जन कम गर्दै जानु, आणविक शस्त्रअस्त्रको प्रतिस्पर्धा त्याग्दै वैकल्पिक ऊर्जाको प्रयोगबाट यातायातका साधन सञ्चालन गर्ने र उद्योगधन्दाहरु पनि नवीकरणीय ऊर्जाबाटै चलाउनुपर्ने नीति बन्न आवश्यक छ ।

स्वस्थ वातावरण, स्वस्थ जीवन भन्ने नारालाई गाउँ–गाउँमा हरेक समुदाय र व्यक्तिबीच चेतना फैलाउन सक्नुपर्छ । विकास चाहिएको हो, विनास परिणाम भएर नआओस् । प्राकृतिक स्रोत सम्पदाहरुको बुद्धिमतापूर्ण ढंगले उपयोग गर्ने हो, जरो उखेलेर आगो लगाएर होइन । प्लास्टिकजन्य पदार्थहरु नसड्ने नकुहिने वस्तुहरु विशाक्त ग्याँस या रसायनहरूको प्रयोग र व्यवस्थापनमा ध्यान दिनाले जलवायु परिवर्तन केही हदसम्म सामान्य रहन सक्छ ।

दिगो विकासको मूलमन्त्र वातावारणलाई नकारात्मक प्रभाव पर्न नदिने भन्ने हो सयौँ वर्षे ऐतिहासिक धरोहरका रुपमा रहने गरेका रुखहरु काटेर उजाड, मरुभूमिको रुपमा परिणत गर्नुपूर्व विकल्प खोजिनुपर्छ । एउटा रुखसँग कैयौँ पशुपंक्षी र मानव जीवनको प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । त्यसैगरी पृथ्वीमा तापमान वृद्धि हँुदै जाने र सरोकारवालाहरुले औपचारिकता मात्रै निभाउने हो भने अब पृथ्वी प्राणी तथा वनस्पतिको लागि रहनयोग्य नहुन सक्छ । एक व्यक्ति, समुदाय हुँदै सिंगो राष्ट्र र सारा विश्वले प्रतिबद्धता जनाए पारिस्थिक प्रणालीलाई पुस्तौंपुस्ता त्यसैगरी हस्तान्तरण गर्दै जान सकिन्छ र क्षत–विक्षत ओजोन तह पनि पहिले कै अवस्थामा आएर रहन सक्छ र मानव जीवन सहज बन्न सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here